आपतकालिन अवतरण गरेको बुद्ध एयरको जहाजमा हाईड्रोलिक सिष्टममा समस्या

११ श्रावण २०७८, सोमबार २२:२५

काठमाडौं । आज साँझ ६ः०२ मा काठमाडौंस्थित विमानस्थलमा आपतकालिन अवतरण गराइएको बुद्ध एयरको जहाजको हाईड्रोलिक सिष्टममा समस्या देखिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

सो जहाजको नोज गिएरको हाईड्रोलिक जाम भएको सूचना चितवनमाथिको आकाशमा पुगेपछि ककपिटमा पुगेको थियो । लगत्तै चालक दलका सदस्यहरुले कुन ठाउँमा आपतकालिन अवतरण गराउने भन्ने निर्णय लिन केही बेर लागेको थियो । सबै सुविधा सम्पन्न विमानस्थलमा अवतरण गराउने निर्णय भए अनुसार उक्त जहाजलाई काठमाडौंस्थित विमानस्थलमा अवतरण गराइएको जनाइएको छ ।
सुरक्षित अवतरण गरेको सो जहाजलाई धावनमार्गबाट भने तानेर ह्याङ्गरमा पुर्याइएको थियो । हाईड्रोलिक मर्मत गरेपछि भोलि पुनः जहाज उड्न सक्ने बुद्ध एयरले जनाएको छ ।

उता, फ्लाईट राडारले भने फरक तथ्याङ्क देखाएको छ । विश्वकै विश्वासिलो हवाई जहाज ट्रयाकिङ सम्बन्धी वेभसाईट फ्लाईटराडार २४ का अनुसार जहाजको गति घटबढ हुने समस्या देखिएको छ । धादिङको कल्लेरीमाथिको आकाशमा २३३ किलोनटबाट जहाज एकाएक १०० किलोनटभन्दा तल झरेको देखिएको छ भने नवलपरासीसम्म पुग्दा कम्तीमा चार पटक जहाजको गति एकाएक तल झरेको देखिएको छ ।

त्यस्तै सो जहाज फर्कदा समेत जहाजको गति निकै कम हुँदै बढ्ने गरेको देखिएको छ । आधिकारिक तथ्याङ्क जहाजसँग तथा एयर ट्राफिक कन्ट्रोलरको राडारमा हुने भएकोले फ्लाईटराडारको तथ्याङ्कलाई आधिकारिक मान्न नसकिए पनि सो समस्याको सम्बन्धमा पनि छानविन गर्नुपर्ने माग यात्रुहरुले गरेका छन् । आज समस्यामा परेको जहाजमा ६९ जना यात्रु र चालक दलका सदस्यहरु थिए । जहाजका यात्रुहरु सबै सकुशल रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*