वाहवाहीसाथ सत्तारोहण, ३ वर्ष ४ महिना २५ दिनमा सत्ताबाट गलहत्याइए ओली

२८ असार २०७८, सोमबार २३:५१

काठमाडौं । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त हुँदा प्रधानमन्त्री केपी ओलीको साथमा सिंगो देशले एउटा आशा, विश्वास र भरोसा बोकेको थियो । बामगठबन्धनमा नेपाली कांग्रेसमा चुनावमा धुलो चटाएर सत्तारोहण गर्दा केपी ओलीको राष्ट्रिय अन्तर्राष्ट्रिय छवि निकै उच्च थियो ।

प्रधानमन्त्री केपी ओलीको दोस्रो पटकको सत्तारोहणमा साथ दिन पाकिस्तानका प्रधानमन्त्री हठात काठमाडौं उत्रिए । २०७४ साल मंसिर, पुसमा सम्पन्न भएको आम निर्वाचनपछि प्रधानमन्त्री बनेका केपी ओलीलाई साथ दिन तत्कालिन पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी ओली सरकार गठन भएको १८ दिनपछि अर्थात सोही वर्षको फागुन २१ गते काठमाडौं उत्रिए । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन र हौसला दिन काठमाडौं आएका पाकिस्तानी अब्बासी त्यतिबेला चकित खाए, जतिबेला प्रम ओलीले बोआओ फोरम फर एसियाको ऐतिहासिक सम्मेलन त्यागेर नयाँदिल्लीतर्फको यात्रा रोजे । प्रम ओलीको राजनीतिक जीवनका लागि यो घटना ऐतिहासिक भूल थियो ।

निर्वाचनमा प्राप्त मतको रात र तापले वाहवाहीका साथ सत्ता रोहण गरेका प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा पनि दुई तिहाईको स्पष्ट बहुमतसहित प्रधानमन्त्री बन्न सफल भएका थिए । २०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी कन्द्र दुई पार्टी एकीकरण गर्ने निर्णयसँगै अब केपी ओली दुई तिहाई पुग्नै लागेको दलको अध्यक्ष तथा मुलुकको कार्यकारी प्रधानमन्त्री भएर देश चलाउँदै थिए । पहिलो पटक २०७२ सालमा प्रधानमन्त्री भएका बेला भारतले लगाएको नाकाबन्दी कारण पनि प्रम ओलीको दोस्रो पटकको सत्तारोहण आम जनताको आशा, विश्वास र तारापुञ्ज बन्दै अघि बढिरहेको थियो । प्रम ओलीप्रति जनताको विश्वास र भरोसा बढ्दै गइरहेको थियो तर, प्रम ओली र उनको टिम भने भित्रभित्रै कुहिँदै गइरहेको थियो ।

जनताको त्यत्रो आशा, विश्वास र भरोसा, छिमेक तथा मित्र राष्ट्रहरुको माया र आकर्षणको केन्द्रबिन्दु बन्दै अघि बढेका ओली आज सत्ता रोहण गरेको तीन वर्ष ४ महिना २५ दिनपछि सर्वोच्च अदालतले सत्ताबाट गलहत्याइएको अवस्थाबाट बालुवाटारबाट बाहिरिँदैछन् । प्रम ओलीले राजनीतिक जीवनमा तीन वर्षमा यति ठूलो विकराल अवस्था आउँछ भनेर शायदै सोचेका थिए होलान् । फागुन ३ गते प्रधानमन्त्री बन्दा सिंगो पार्टी थियो, वाम गठबन्धन गरेको माओवादी केन्द्रको स्पष्ट साथ थियो भने संघीय समाजवादी पार्टीको समेत साथले नेपालमा बिरलै हुने दुई तिहाई जनादेशसहितको सरकारको नेतृत्व गरिरहेका थिए । तीन वर्षपछि आज सर्वोच्च अदालतबाट गलहत्याईदा न आफ्नो पार्टी सिंगो छ, न हिजो साथ दिन आएका माओावदी केन्द्र र संघीय समाजवादी पार्टीकै पनि साथ छ ।

जनताबाट तिरस्कृत, अन्य राजनीतिक पार्टीहरुबाट बहिस्कृत र छिमेक तथा मित्र राष्ट्रहरुबाट तितो सम्बन्धको अनुभूतिसहित सम्भवतः भोलि बालुवाटार छोड्दैछन् । प्रम ओलीलाई नजिकबाट साथ दिइरहेका तथा उनलाई हरेक दृष्टिबाट सही हुन् भन्नेहरु बाहेक आम जनताले केपीराजको अन्त्यका लागि न्यायालयको फैसला प्रतिक्षा गरिरहेका थिए । प्रधानमन्त्रीमा नियुक्त हुँदा जनमतको राप र तापले जाज्वल्यमान ओली आज जनताले जतिसक्दो छिटो सर्वोच्च अदालतबाट गलहत्याईएको दिनको प्रतिक्षा गरिरहेका थिए । नेकपा एमालेको राजनीतिक जीवन तथा भविष्यमा केपी ओली पात्र, उनको ३ वर्ष ४ महिना २५ दिने सरकारको समीक्षा पक्कै हुनेछ ।

प्रधानमन्त्री पदमा ओलीले बिताएको ३ वर्ष ४ महिना २५ दिन जनताको कोणबाट केही महत्वपूर्ण कामहरु बाहेक निरर्थक बितेका छन् । भुकम्प पुननिर्माणको क्रममा रानीपोखरी तथा धरहराको निर्माण, भ्रष्टाचार विरोधी अभियान, कोरोना भाइरस नियन्त्रणमा खेलेको नतिजामुखी भुमिका बाहेक निरर्थक बितेको छ । नेकपा एमालेकै पार्टी जीवनका लागि केपी ओलीको उक्त कार्यकाल घातक मात्रै रहेन्, आफ्नै खुट्टामा बन्चरो हाने सरह सावित भयो । त्यस्तै जनताको विश्वासलाई पूरा गर्न नसक्दा विश्वास र भरोशा र निराशा र आक्रोसमा रुपान्तरित हुनु, आफ्नो पार्र्टी बिभाजनको संघारमा पुग्नु, अन्तर्राष्ट्रिय समुदाय समक्ष सफल नेतृत्वको भूमिकाबाट पतन हुनु जस्ता कुराले केपी ओलीको ३ वर्ष चार महिने कार्यकाललाई दीर्घकालिन हिसाबले सफल मान्न सकिदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*