साउन २१ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा गर्ने निर्णय

१९ श्रावण २०७८, मंगलवार २२:१८

काठमाडौं । काठमाडौंका अस्पतालहरुमा कोरोना भाइरसका संक्रमितहरुले भरिन थालेपछि उपत्यका प्रशासनले आगामी साउन २१ गतेदेखि राजधानी काठमाडौंमा जारी निषेधाज्ञा थप कडाई गर्ने भएको छ ।

जिल्ला प्रसासन कार्यालय काठमाडौंले आज जारी गरेको सूचना अनुसार काठमाडौं उपत्यकामा तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश थप कडाई गरेको हो ।
उपत्यका प्रशासन कोभिडका संक्रमितहरु बढ्न थालेकाले साउन २१ देखि २७ गतेसम्म थप भएको निषेधाज्ञा थप कडाई गरिएको काठमाडौं प्रशासनले जनाएको छ ।

हालसम्म गोष्ठी, तालिम, सेमिनार, बैठक तथा शिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएकोमा आगामी बिहिवारदेखि पूर्ण रुपमा रोक लगाइएको छ र अब भर्चुअल मात्रै गर्न पाइने भएको छ ।

काठमाडौंमा कुनै पनि भीडभाडजन्य गतिविधि रोक्न कार्यक्रम भर्चुअलका माध्यमबाट गर्न भनिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । पछिल्लो समय राजधानी उपत्यकामा मापदण्ड उल्लंघन हुँदा पनि मौन बसेका सुरक्षाकर्मी अब अक्षरस पालना गराउने उनले बताए ।

आदेशमा कोभिड–१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न अनुरोध गरिएको छ ।

आज जारी भई आगामी साउन २१ गतेदेखि लागू हुने आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितका खेलकूद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न÷गराउन नपाइने र उक्त व्यवस्था उल्लंघन भएमा कडा कारवाही गरिने समेत जनाइएको छ ।

यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा÷जुलुस गर्न, जात्रा महोत्सव, भोजभतेर आदि गर्न÷गराउन नपाइने तथा नित्य पूजाबाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।

अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य अडरको हकमा टेक–अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने आज जारी सूचनामा उल्लेख छ । यसअघिको आदेशानुसार लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*