शेयर बजार घट्नुमा अर्थमन्त्री–गभर्नर दोषी कि बैंकको तरलता ?

१ आश्विन २०७८, शुक्रबार १०:१४

समाचार विश्लेषण

पछिल्लो समयम नेपालको शेयर बजारमा लगातार गिरावट आउन थालेको छ । संकेतहरुले शेयर बजारमा आएको गिरावट अझै नरोकिने देखाएको छ । यही बीचमा केही लगानीकर्ताहरु भने आमरण अनसनमा समेत बसेका छन् ।

उल्लेखित घटनाक्रमहरुले नेपालको शेयर बजारमा लगानीकर्ताहरुको प्रवेश, हचुवाको भरमा भइरहेको, शेयर बजार सम्बन्धी पर्याप्त ज्ञानको अभाव रहेको तथा शेयर बजार अझै पनि माफियाहरुले नै चलाइरहेको देखिएको छ । पछिल्लो समय केही लगानीकर्ताहरु अनसन नै बस्नुले शेयर बजारमा माफियाहरुले आफ्नो कब्जामा पार्न चाहेको देखिएको छ ।

औलामा गन्न सकिने केही शेयर लगानीकर्ताहरुको कारण सिंगो शेयर बजार प्रभावित भइरहेको छ । नेपालको शेयर बजार उच्चतम् बिन्दुमा जाँदा बढिमा २५०० भन्दा माथि जानु असान्दर्भिक नै थियो । तत्कालिन अर्थमन्त्रीमन्त्री विष्णु पौडेलले माफियाहरुसँगको सेटिङमा केही सीमित लगानीकर्ताहरुको लाभको लागि कर्नरिङ गरेर नेप्से परिसूचक ३२०० भन्दा माथि पुर्याइयो । जसको असर अहिले देखिएको छ ।

सर्वसाधारण लगानीकर्ताहरु जोगिनुपर्ने यहीनेर हो ? देशको कूल जिडिपीभन्दा माथि बजार पुँजिकरण भइरहेको भन्दै सञ्चार माध्यमहरुमा लगातार समाचार आइरहेको थियो । तर, बजारमा हौसिदै लगानीकर्ताहरु शेयर खरिद गरिरहेका थिए । मिडिया र नेपाल धितोपत्र बोर्डले भन्दै थियो, सोच विचार गरेर मात्रै शेयर खरिद गर्नुहोला । तर, केही माफियाका डिजाइनमा परेकाहरुले उल्टै धितोपत्र बोर्डका विरुद्धमा गाली गरेका थिए ।

तत्कालिन अर्थमन्त्री पौडेल र माफियाको सेटिङ थियो, शेयरको मूल्य लगातार बढाइएको थियो । उल्टो धितोपत्र बोर्डका पदाधिकारीहरुलाई सरकारले हस्तक्षेप गर्ने प्रयास गरेको थियो । अहिले शेयर मूल्य लगातार घटिरहेको छ, अनि लगानीकर्ताहरु अर्थमन्त्री र गभर्नर बर्खास्त गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् ।

वास्तविकता बुझ्ने भन्दा पनि लहै लहैमा लाग्ने नेपालको प्रवृत्ति शेयर बजारमा पनि देखिएको छ । हिजो बैंकिङ क्षेत्रमा ठूलो मात्रामा तरलता बढेको थियो । बैंकले राष्ट्र बैंकलाई झुक्याएर व्यक्तिगत कर्जाको नाममा अर्बौ रुपैयाँ शेयरमा लगानी गरेको थियो । आज बैंकमा तरलता सकिएको छ, बैंकहरु पैसा खोज्न भौतारिरहेका छन्, शेयर बजारमा पनि तनाव सुरु भएको छ । सम्झौ त, गत वर्ष बैंकहरुमा कहाँ लगानी गर्ने भन्दै ठाउँ नपाएर निक्षेपको ब्याजदर घटाइरहेका थिए । बैंकले लगानी गर्ने ठाउँको रुपमा शेयर बजारमा ठूलो पैसा प्रवाह भयो । अब बैंकले भन्न थाल्यो । रकम दिन सक्दैनौं, शेयर बजारमा लगानी गर्ने पैसा अभाव भयो । साथै राष्ट्र बैंकले पनि शेयर धितोकर्जामा कडाई गर्यो । जसको परिणाम अहिलेको अवस्था सिर्जना भएको यथार्थ हामी सबैको सामू छ ।

नेपालजस्तो विकासशिल मुलुकको शेयर बजारको कूल पुँजिकरण जिडिपीभन्दा माथि भई ओभर भ्यालुड हुँदा समेत हौसिएर मालामाल बन्ने भन्दै शेयर किन्ने अहिले आएर शेयर बजारमा मूल्य घट्यो भनेर रुवाबासी गर्नु कति उचित ? दुर दराजमा लगानी गर्नुपर्ने, देशमा उत्पादकत्व बढाउन लगानीगर्ने पर्ने बैंकको निक्षेप सधैं अनुत्पादक क्षेत्रमा लगानी गरेर मात्रै सम्भव हुँदैन । यो यथार्थ सबैले स्वीकार गर्ने हो भने शेयर बजार घट्ने मात्रै होइन, वास्तविक आकारमा झार्नैपर्छ । त्यसको लागि आन्दोलन होइन, कहाँ कहाँ गल्ती भयो, कस कसले ३२०० पुर्याएर डुबाए सबैको एक एक हिसाब किताब गर्न लगानीकर्ताहरु तयार हुनुपर्दछ ।

अर्को अचम्मको विषय के देखिएको छ भने शेयर बजार घट्नुमा अर्थमन्त्री र गभर्नर दोषी भन्दै आन्दोलन गर्नु कति जायज ? यसको सबैले समीक्षा गर्न आवश्यक छ । एउटै व्यक्तिले एक अर्ब ऋण लिने कुनै नयाँ लगानीकर्ताले १० लाख ऋण नपाउने अवस्थाको अन्त्यको लागि राष्ट्र बैंकले एउटा व्यक्तिको लागि ऋणको सीमा तोकेको हो, सिंगो व्यवसायको लागि होइन, यति शैलीमा पुँजि बजार बृद्धि हुने हो भने भोलिका दिनमा शेयर बजारमा कूल लगानीको निश्चित प्रतिशत भन्दा बढि लगानी गर्न नपाइने नियम लागू हुन सक्दछ । १२ करोडको सीमाकै कारण मात्रै समग्र पुँजिबजारमा यति ठूलो गिरावट आउनुपर्ने कारण देखिदैन । त्यसैले अहिलेको शेयर बजारमा आएको गिरावटलाई अर्थमन्त्री वा गभर्नरसँग जोडेर हेर्नुभन्दा पनि बैंकमा बढ्दै गएको तरलता अभावतर्फ पो ध्यान दिने हो कि ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*