शेयर बजारमा मूल्य निर्धारणको स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै माफियाहरु ‘ग्याङ वार’मा !

१० आश्विन २०७८, आईतवार ११:५७

समाचार विश्लेषण

काठमाडौं । शेयर बजारको विश्वव्यापी मान्यता हो, खरिदकर्ता र बिक्रेताले स्वतन्त्र रुपमा कम्पनीहरुको शेयरको मूल्य निर्धारण गर्ने । माल्थसको सिद्धान्त अनुसारकै खरिदकर्ता र बिक्रीकर्ताको आवश्यकता, इच्छा र चाहनाको आधारमा शेयरको मूल्य निर्धारण भई कारोबार हुनु पुँजि बजारको पहिलो शर्त र विश्वव्यापी मान्यता हो ।

तर, यसको स्वतन्त्रता र मूल्यमान्यता विपरित माफियाहरुले शेयर बजार आफू अनुकूल घटबढ गराएर चलखेल गर्ने प्रयास विश्वव्यापी रुपमा भइरहेको हुन्छ । पुँजिबजारमा अहिले पनि कालो शुक्रबारको रुपमा सन् १८६९ मा भएको सुनको मूल्य कर्नरिङ गरेर अस्वाभिक रुपमा बृद्धि गरिएको घटना विश्व इतिहासमा पाइन्छ ।

अहिलेको शेयर बजारको प्रवृत्ति हेर्दा सन् २००८ मा वल्सवागेन कम्पनीको शेयरमा पोर्सेले नामक कम्पनीले गरेको शेयर कर्नरिङकै तस्विर चन्द्रागिरी हिल्समा देखिन आएको छ । वोल्सवागेन कम्पनीको शेयर कर्नरिङ गर्ने कार्यमा संलग्न पोर्से कम्पनीले उक्त कम्पनीमाथिको शेयर स्वामित्व बढाउन शेयर धेरै शेयर किनेको दावी गरेको थियो । दुई वर्षसम्म चलेको उक्त कर्नरिङ काण्ड अन्ततः असफल भयो र शेयर माफियाको रुपमा कर्नरिङ गर्ने कार्यमा संलग्न पोर्स कम्पनीका सिईओ तथा वित्त प्रमुख समेतले राजिनामा गरे । नेपालको सन्दर्भमा सन् २००७–२०१० को वल्सवागन जस्तै थुप्रै काण्डहरु शेयर बजारमा घटिरहेका छन् ।

शेयर बजारको हुने मूल्य निर्धारणको स्वतन्त्रता सम्बन्धमा हालसम्म ठोस अध्ययन अनुसन्धान भएको पाइदैन । सांसदहरुले नै संसदमा शेयर बजारबारे मन्त्रीसँग स्पष्टिकरण मागेको पाइन्छ । शेयर बजारमा मूल्य निर्धारण यस्तो स्वतन्त्रता हो, जसको कुनै पनि पक्षबाट हनन् हुनु हुँदैन । त्यसो भनिरहँदा, स्वतन्त्रताको नाममा शेयर माफियाहरुले गर्ने इन्साइडर ट्रेडिङ तथा कर्नरिङ तथा अन्य यस्तै अनैतिक अभ्यासहरुको निरन्तर अनुगमन जरुरी छ ।

शेयर बजारमा मूल्य निर्धारणको स्वतन्त्रतामाथि हस्तक्षेप हुने गरी मिडिया कन्टेन्ट तयार पारेर प्रचार प्रसार गर्ने, सामाजिक सञ्जालमा कुनै खास वा विशेष कम्पनीको शेयर किन्ने वा बिक्री अभियान चलाउने कार्यले शेयर बजारलाई कहाँ लैजान्छ ? नेपाल धितोपत्र बोर्डले त्यस्तो कन्टेन्टहरु समाचार बनाउन नपाइने प्रष्ट पार्दै आएको छ । सञ्चार माध्यमहरुले पालना गरेका छन् त ? यसको अनुगमन कसले गर्ने ? प्रेस काउन्सिल नेपाल र नेपाल धितोपत्र बोर्ड मिलेर शेयर बजार सम्बन्धीका मिडिया कन्टेन्ट तथा सामाजिक सञ्जालका ग्रुपहरुमा शेयर हुने कन्टेन्टहरु समेत नियमनको दायरामा ल्याउने हो भने केही हदसम्म शेयर बजारमा मूल्य निर्धारण स्वतन्त्रता थप बलियो हुनसक्नेछ ।

यतिबेला नेपालको शेयर मार्केट १९२९ को अमेरिकी शेयर मार्केट जस्तो देखिएको छ । उतिबेला माफियाहरुले चर्को चलखेल गर्ने, माफियाहरुले नै शेयर मूल्य घटाउने र माफियाहरुले नै शेयर मूल्य बढाउने गर्दथे । नेपालको शेयर मार्केटसँग मिल्दोजुल्दो देखिन आएको छ । उतिबेला खरिद बिक्रीको स्वतन्त्रताबाट भन्दा पनि माफियाहरुले खुब प्रचार प्रसार गरेर आम सर्वसाधारणलाई शेयर किन्न वा बिक्री गर्न उत्प्रेरणा दिइन्थ्यो । अहिले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरु शेयर बजारका माफियाहरुको भरौटे जस्तै बन्न पुग्दा पुँजि बजारमा स्वतन्त्र मूल्य निर्धारण प्रक्रिया अबरुद्ध हुन पुगेको देखिन्छ ।

शेयर बजारका माफियाहरुले आफूले चाहे जसरी मूल्य बृद्धि गर्न नपाएपछि नेपाल राष्ट्र बैंक र अर्थमन्त्रीलाई दोषी देखाइरहेका छन् । ब्रोकर कम्पनीहरुले आफूले पाउने कमिशनको लागि शेयर बिक्री गर्ने लगानीकर्तालाई नेटिङमार्फत पुनः शेयर खरिद गर्न लगाउने प्रवृत्ति पुँजि बजारको अर्को खराव पक्ष हो । आफूलाई शेयर बिक्री गर्नुपर्दा आम सर्वसाधारणलाई शेयरको मूल्य बृद्धि हुन्छ, किनौं भन्दै हौसला दिई शेयरको मूल्य बढाउने र आफूलाई शेयर किन्नु पर्दा विभिन्न अर्थमन्त्री र गभर्नरलाई देखाएर, आन्दोलनको बाहना पारेर मूल्य घटाउन उद्यत रहेको पाइन्छ । पछिल्लो पटक माफियाहरुले आम लगानीकर्ताहरुको भावनासँग खेलवाड गर्दै अनावश्यक रुपमा अर्थमन्त्री र केन्द्रीय बैंकले अघि सारेको नीतिलाई आफ्नो स्वार्थ पूरा गर्ने हतियारको रुपमा उपयोग गर्दैछन् ।

आम लगानीकर्ताहरु यस्ता अनैतिक व्यवहारबाट सचेत हुनुपर्ने छ । अन्त्यमा यति मात्रै भन्न सकिन्छ, शेयर बजारमा खेलाडीहरुले तीव्र उतार चढाव पारेको बेलामा सचेत भएर शेयर कारोबार गर्नु नै उत्तम हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*