पुँजि बजारको स्थायी विकासमा लाग्ने कि माफियासँगै नाच्ने ?

१५ आश्विन २०७८, शुक्रबार १०:०१

-। समाचार विश्लेषण ।-

नेपालको स्टक मार्केटले नयाँ रेडर्क राख्दै ३२०० बिन्दुमा पुगेपछि आफै बियरिस गर्ने अभियानमा लागेका शेयर बजारका माफियाहरु यतिबेला अर्थमन्त्री जनार्दन शर्माका विरुद्धमा बद्नाम गर्न सक्रिय भएका छन् । त्यसको लागि सामाजिक सञ्जालहरुमा अभियान चलाइएको छ भने केही अनलाईन मिडियाहरु समेत दुरुपयोगमा परेका छन् ।

नेपालको शेयर मार्केटमा अनावश्यक रुपमा इक्जेट गरेर देशको कूल ग्राहस्थ उत्पादन भन्दा माथि पुर्याउने माफियाहरु यति बेला अर्थमन्त्रीका विरुद्धमा अभियानमा जुटेका हुन् । गत वर्ष तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले पद छोडेकै दिनबाट बृद्धि हुन थालेको शेयर बजार विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि गोलीको बेगमा अघि बढेको थियो । एकै दिन पोजेटिभ सर्किट लागेर कारोबार समेत बन्द हुने गरी बृद्धि भएको शेयर बजार यस पटक विष्णु पौडेल बाहिरिँदा भने हठात घटेन । बरु केही उल्टै बृद्धि भइरहेको थियो ।

अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएको दिन नेप्से परिसूचक ३१६० को बिन्दुमा थियो । समाजवादी विचारधारा बोकेको र माक्र्सवादी अर्थशास्त्रबाट लैस जनार्दन शर्मा अर्थमन्त्री भएपछि पनि शेयरको मूल्य लगातार बढिरहेको थियो । जनार्दन शर्माकै पालामा ३१९८ को बिन्दुमा पुगेर हालसम्मकै नयाँ रेडर्क कायम गर्न सफल भएको थियो ।

यही बीचमा नेपाल राष्ट्र बैंकले एउटा निर्णय गर्यो, मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा तोकियो । जसमा एउटा व्यक्तिले अधिकतम् १२ करोडभन्दा बढि ऋण लिन नपाइने व्यवस्था गरियो । हुन पनि ४० खर्ब पुँजिकरण भएको शेयर बजारमा जम्मा एक दर्जन व्यक्तिले हल्लाइरहेका थिए । ति एक दर्जन व्यक्तिहरु उक्त सीमाभन्दा निकै माथि कर्जा लिएका थिए । अब उनीहरुले सरकारसँग रिस साध्न थाले । सोझा र नवप्रवेशी लगानीकर्ताहरुलाई कन्भिन्स गरियो, सरकारले घाँटी रेट्यो भनियो, तर यथार्थमा मध्यखालका नव प्रवेशीहरुको घाँटी रेटेका थिएन, बरु उनीहरुलाई शेयर धितो कर्जाको सीमा यथावत राखेर सहयोग गरिएको थियो र शेयर बजारलाई आफ्नो औलामा नचाउन चाहने जम्मा एक दर्जन व्यक्तिलाई एउटा सीमाभित्र बाँधेर नियमन गर्न खोजिएको थियो ।

सरकारसँग प्रतिशोध साध्न चाहेको ति सीमित माफियाहरुले शेयरको मूल्य लगातार घटाउन थाले । जसको परिणाम सोझा आम लगानीकर्ता र नव प्रवेशीहरु मारमा परेका छन् । सडकमा आन्दोलनको नाटक मञ्चन गरियो, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई निशाना बनाइयो । यथार्थमा न अर्थमन्त्रीले गरेका थिए न गभर्नरले । विष्णु पौडेलले ल्याएको अध्यादेश बजेटको आधारमा राष्ट्र बैंकले शेयर बजार नियमन गर्ने नयाँ योजनाको लागि लामो अध्ययन गरेर तयारी अवस्थामा थियो । गभर्नरले एकीकृत मौद्रिक नीतिमा उक्त व्यवस्था लागू गर्न अनुमति दिए । अब माफियाहरुको निद हराम भयो र चौतर्फी प्रहार सुरु भयो ।

अहिलेको शेयर बजार घटेको भन्दा पनि घटाइएको थियो । कारण चार जनाले एक अर्बभन्दा बढि ऋण १२ करोडमा झार्नुपर्ने भयो र अन्य एक दर्जनले ५० करोडभन्दा बढि ऋण १२ करोडमा झार्नुपर्ने भयो । सरकारले लिएको गलत नीतिका कारण उद्योग व्यवसाय धरासायी भएको नेपाल राष्ट्र बैंकले लिएको गलत नीतिका कारण सार्वजनिक कम्पनीहरु डुब्ने अवस्थामा पुगेर शेयर बजारको मूल्य घटेको भए उक्त आन्दोलन र अभियानहरुको औचित्य पुष्टि हुने थियो ।

दुई चार जना शेयर बजारलाई चलखेल गर्ने व्यक्तिहरुलाई साईजमा ल्याई नेप्सेमा स्वतन्त्रतापूर्वक मूल्य निर्धारण हुनेसक्ने अवस्थाको सिर्जना गर्ने प्रयास गर्नुलाई सरकारको गल्ती देख्ने प्रयास गरिए पुँजि बजारको स्थायीत्व र विकासको लागि यो भन्दा दूर्भाग्यपूर्ण अवस्था अरु के हुन सक्ला ? आज शेयर बजारको मूल्य चाहेको अंकमा बृद्धि गराउन सक्ने माफियाहरुले भोलिका दिनमा शेयर बजारको समग्र मूल्य परिसूचक २००० भन्दा तल पुर्याउँदैनन् भन्ने आधार के छ ?

आम लगानीकर्ताहरुले बुझ्न्ुपर्ने कुरा के हो भने पुँजि बजारको स्थायीत्वको लागि मूल्य निर्धारणको स्वतन्त्रतामा कही कतैबाट हस्तक्षेप हुनुहुँदैन । पुँजि बजारको साँचो माफियाको हातमा सुम्पनका लागि हामीले गर्ने विरोध वा समर्थनले पुँजि बजारको स्थायीत्व र विकास सम्भव छैन ।

पुँजि बजारका सम्बन्धमा संसदमा छलफल गर्न नदिऔं, मन्त्रीलाई भाषण नगर्न आह्वान गरौं, सचिवहरुलाई पुँजि बजारको सम्बन्धमा सार्वजनिक कार्यक्रममा र गोप्य कोठामा समेत छलफल गर्न नदिऔं । राजनीतिक दलका नेतृत्वलाई समेत लगानीकर्ताको रुपमा कोही कसैसँग भेटघाट र छलफल नगर्न आह्वान गरौं । अनि मात्रै पुँजि बजारमा स्वतन्त्र रुपमा मूल्य निर्धारण हुन सम्भव हुन्छ । जवसम्म स्वतन्त्र मूल्य निर्धारणको वातावरण बन्दैन, तबसम्म नेपालको पुँजि बजारको विकास र समृद्धि सम्भव छैन । माफियाले नचाएको बजार दुई दिन ६००० कै बिन्दुमा पुगेपनि यसले स्थायित्व लिन सकेन भने माफियाहरु मालामाल बन्ने र आम लगानीकर्ता आत्महत्या गर्नुपर्ने अवस्थामा पुग्नेतर्फ सबै सचेत बन्नु आवश्यक देखिएको छ ।

शिर्षक अपडेट गरिएको ।*

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*