वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढ्यो

२७ आश्विन २०७८, बुधबार ०४:५४

काठमाडौं । असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको छ। बैंकर्स एशोसियसनले प्रकाशन गरेको वाणिज्य बैंकहरुको साप्ताहिक रिर्पोटले यस्तो देखाएको हो ।भदौ मसान्तको तुलनामा असोज दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ७० अर्ब रुपैयाँले बढेको हो । भदौमा ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले असोज दोस्रो सातासम्म कुल कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुर्याएका छन् ।

त्यस्तै, एशोसियनले उपल्बध गराएको साप्ताहिक तथ्याङ्क भदौको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४२ अर्ब रुपैयाँले बढेको छ ।भदौ मसान्तसम्म कुल ४१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका विकास बैंकहरुले असोज दोस्रो सातासम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
बैंकहरुको गत आर्थिक वर्षको अषाढ मसान्तमा पनि ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । साउन र भदौ महिनामा भने बैंकको निक्षेप निरन्तर ओरालो लागेको थियो । तर, फेरि निक्षेप बढेको छ ।

अहिले अधिकांश बैंकहरु कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमामा पुगिसकेका छन् भने कतिपयको सीमा पनि नाघिसकेको छ । यो अवस्थामा पनि बैंकको कर्जा लगानी भने बढिनै रहेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा–पुँजी–निक्षेप (सीसीडी) खारेज गरेर सीडी रेसियोको व्यवस्था गरेको थियो । राष्ट्र बैंकको नयाँ व्यवस्थाका करिब डेढ दर्जन बढीबैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था रहेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकले बैंकको सीडी रेसियो ९० प्रतिशत हुनु पर्ने व्यवस्था गरेको थियो । सो व्यवस्था अनुसार हाल अधिकांश बैंकको ९० प्रतिशतको सीडी रेसियोको सीमा नाघेको छ । हाल बैंकहरुको औसत सीडी रेसियो भने ८८.१८ प्रतिशत रहेको बताइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*