अर्थमन्त्री शर्माद्वारा आत्मनिर्भरमुखी अर्थतन्त्रमा जोड

१९ कार्तिक २०७८, शुक्रबार ०८:१८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन् ।

बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहार लगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले भने, ‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ । तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाहरूले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ ।’

यसैगरी मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताए । उनका अनुसार मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरके नागरिकले संकल्प गर्नुपर्नेछ । मन्त्री शर्माले भने ‘उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नीति बनाएर मात्र हुँदैन, सरकारको नीति कार्यान्वयनका लागि हरेक नागरिकले राष्ट्र निर्माणको संकल्प गर्न आवश्यक छ ।’

‘म मेरो देश बनाउँछु, म मेरो देशलाई सम्पन्न गर्छु, गरिबीको अन्त्य गर्न मेरो ठाउँबाट भूमिका खेल्छु भनेर सबैले संकल्प गर्यौं र सोही अनुसार देश अगाडि बढ्यो भने हाम्रो गरिबी अन्त्य गर्न धेरै समय लाग्दैन, पाँच वर्ष काफी छ’ मन्त्री शर्माले भने ।
व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह समेत गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*