अर्थमन्त्री शर्माले सम्हालेपछिको पहिलो तथ्याङ्कः आयात घट्यो, निर्यात बढ्यो

३० कार्तिक २०७८, मंगलवार २३:२६

काठमाडौं । वर्तमान अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय सम्हालेपछिको पहिलो त्रैमासिक आर्थिक अवस्था राष्ट्र बैंकले आज सार्वजनिक गरेको छ । आज प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कूल वस्तु आयात १२.७ प्रतिशतले घटेर दुई खर्ब ९२ अर्ब २७ करोडमा सीमित राख्न सफल भएको छ । त्यस्तै वस्तु निर्यात १४.३ प्रतिशतले बृद्धि हुँदा समग्र व्यापार घाटामा १५ प्रतिशतको सुधार आएको छ । अर्थमन्त्रीमा शर्मा नियुक्त भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सुधार आएको तथ्याङ्कले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा आयात १०.३ प्रतिशतले घटेकोमा चालु आवमा अझै बढि घटेको हो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको देखिएको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पाटपुर्जा, हवाईजहाज तथा पाटपुर्जा, अन्य मेसिनरी तथा पाटपुर्जा, कच्चा पाम तेललगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

चालु आव २०७८/७९ को तीन महिनामा कूल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई ३१ अर्ब पाँच करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएकोमा यस आवमा अझै बढेको हो ।

तथ्याङ्क अनुसार भारतमा १९.४ प्रतिशत र अन्य मुलुकमा ७.४ प्रतिशतले निर्यात वृद्धि भएको हो । उता, चीनतर्फ ५३.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैँची, पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको तीन महिनामा चालु खाता रु ३४ अर्ब ३६ करोडले बचत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ४७ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २८ करोड ८२ लाखले बचत छ । सो अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई तीन अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई दुई अर्ब ९२ करोड कायम भएको छ ।

तथ्याङ्क अनुसार देशको शोधनान्तर स्थिति एक खर्ब एक अर्ब नौ करोडले बचत छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड बचत थियो । गत साउनमा अर्थमन्त्रीका रुपमा शर्मा आउँदा शोधान्तरण स्थित पुरै घाटामा थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*