आजै राति १२ बजेदेखि इन्धनको मूल्यबृद्धि गर्ने सरकारको निर्णय, पेट्रोल र डिजेलको मूल्य कति पुग्यो ?

५ माघ २०७८, बुधबार २०:४५

काठमाडौं । सरकारले आज राति १२ बजेदेखि इन्धनको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । सरकार नियन्त्रित नेपाल आयल निगमले कोरोनाको कहरकै बीचमा इन्धनको मूल्यबृद्धि गर्ने निर्णय गरेको हो ।

निगमले जारी गरेको सूचना अनुसार पेट्रोल र डिजेल÷मट्टितेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मट्टितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै, आन्तरिक हवाई ईन्धन प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।

२०७८ कात्तिक २४ गते गरिएको मूल्यबृद्धिको विरोधमा विद्यार्थी तथा अभियानकर्ताहरुले आयल निगम घेराउलगायतका मूल्यबृद्धिको विरोध भएपछि सरकारले मूल्य समायोजन गरेको थिएन । निगमले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको भएपनि ३ पटक मात्र मूल्य बृद्धि गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यबृद्धिका कारण निगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरेको जनाएको छ । पछिल्लो पटक निगमसँग थप इन्धन खरिदका लागि रकम नै आभाव भएको समाचार बाहिर आइरहेको छ । निगमको इन्धन खर्च बापत ठूलो रकम बाहिरिएपछि देशको कूल विदेशी मुद्रा संचिती नै घटेको भने बैंकमा तरलता अभाव चर्केको छ ।

निगमका अनुसार घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*