बैंकहरुमा पैसाको हाहाकार, सीमा क्षेत्रमा दिनहु भेटिन थाले नोटका बिटा

८ माघ २०७८, शनिबार २२:०८

काठमाडौं । देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको छ । बैंकहरुमा पैसाको हाहाकार नै छ । पैसाको अभाव हुँदा अधिकांश बैंकहरु तनावमा छन् ।

देशमा पैसाको हाहाकार मच्चिरहेको बेला नेपाल भारत सीमा क्षेत्रमा भने दिनहुँ जसो नोटका बिटाहरु भेटिन थालेका छन् । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको अबैध रकम ५० लाखस हित पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरिएको बताएका छन् । नेपालमा पैसाको चर्को अभावको मौकामा नक्कली नोटको काम गर्नेहरुको संख्या बृद्धि भएको पाइएको छ भने अबैध रकम सीमा क्षेत्रमा फेला पर्नुले भारततर्फ निकासी भइरहेको हुनसक्ने आशंकाहरु उत्पन्न भएका छन् ।
प्रहरीले गत माघ ३ गतेका दिन जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत दशगजा क्षेत्रबाट मटिहानी नपा–३ बस्ने २३ वर्षीय सहाउद्दिन राईनलाई स्रोत नखुलेको ३० लाखसहित पक्राउ गरेको जनाएको छ ।

सोही दिन जलेश्वर नपा–३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमनपा–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गापा–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई रु चार हजार २०० र करिब तीन लाख बराबरको रु ५०० र रु १०० का नक्कली नोट बनाउने काजगसहित प्रहरीले पक्राउ गरेको थियो ।

त्यसैगरी माघ ६ गते मटिहानी नपा–३ स्थित पेट्रोलपम्प अगाडिबाट प्रहरीले दुई हजार नेपाली नक्कली नोटसहित भारतको विहार राज्यको सीतामढी जिल्लाको मेघपुर ग्रामपञ्चायत बस्ने ४० वर्षीय नुरुल जोल्हालाई पक्राउ गरेको थियो भने ७ गते जलेश्वरको मुख्य भन्सार कार्यालय अगाडिबाट प्रहरीले भारतबाट नेपाल आउँदै गरेका भारत विहार राज्यको सीतामढी जिल्लाको सुरसण्ड शहर बस्ने ३९ वर्षीय उदयकुमार साहलाई स्रोत नखुलेको नौ लाख ९६ हजार ४०० भारतीय रुपैयाँ र नौ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको भारतका विभिन्न बैंकको चेकसहित पक्राउ गरेको जनाएको छ ।

नेपालको महोत्तरी जिल्लामा करिब ३८ किमी नेपाल भारतको खुला सिमानाका कारण अवैधरुपमा स्रोत नखुलेको रकम, नक्कली नोटका साथै नक्कली नोट बनाउने तथा कारोबार गर्ने गिरोह सक्रिय भएको पाइएको छ ।

आर्थिक मन्दीको मौका छोपेर खोटा नोटको कारोबार तीव्र हुन थालेपछि सरकारले यसतर्फ समेत विशेष ध्यानदिनुपर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*