शिक्षाविद प्रा. डा. कोइरालाको ‘नेपालका चौँसट्ठी ज्योतिर्लिङ्ग’ सार्वजनिक

९ माघ २०७८, आईतवार २२:१३

काठमाडौं । शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले लेख्नुभएको ‘नेपालका चौँसट्ठी ज्योतिर्लिङ्ग (लोकलयमा)’ पुस्तकको प्रकाशन गरी लोकार्पण गरेको छ । हिमवत् आर्ष प्रज्ञाले प्रकाशन गरेको पुस्तक स्व पं चित्रप्रसाद सुवेदीको स्मृति दिवसका अवसर पारेर प्रविधिका माध्यमले जुमसञ्जालबाट आयोजित कार्यक्रममा महेश संस्कृत गुरुकुलका पीठाधीश १००८ स्वामी रमणानन्द गिरीले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

नेपालका तीर्थस्थलको वैज्ञानिक अनुसन्धान हुनुपर्नेमा जोड दिँदै उहाँले ज्योतिर्लिङ्ग सबैका आस्थाका प्रतीक भएको बताउनुभयो । नेपाल देवताको देश भएको तथ्य उल्लेख गर्नुहुँदै सन्त गिरीले सबै सिद्धस्थलको विधिवत् आराधना हुनुपर्नेमा जोड दिनुभयो ।
हिमवत् आर्ष प्रज्ञाले तृतीय वाक्पुष्पका रूपमा प्रकाशन गरेको पुस्तकको समीक्षा गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा जगमान गुरुङले लोकलयमा नेपालका ज्योतिर्लिङ्गको महिमा वर्णन गर्नुलाई सराहनीय कार्यका रूपमा चित्रण गर्नुभयो । ज्योतिर्लिङ्ग राष्ट्रका किल्ला, सर्वधर्म समन्वयका कडी र जातीय संस्कृतिका एकतासूत्र भएका कारण यिनको संरक्षणमा तदारुकताका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“शिवलिङ्ग नेपालको अस्मिता र सांस्कृतिक पहिचानका आधार पनि हुन्, श्रद्धा र विश्वासका साथ ज्योतिर्लिङ्गको उपासना गर्नाले धन, ज्ञान, विद्या र आयु थपिन्छ, दर्शनले जस्तोसुकै समस्या पनि समाधानको बाटो पाउने कुरा प्रत्यक्षरूपमा मैले अनुभव गरेको छु,” प्राज्ञ गुरुङले भन्नुभयो ।

जरोकिलो अभियानका सङ्कल्पकर्ता सह प्रा डा निर्मलमणि अधिकारीले हाल नेपालमा रहेका गुरुकुलको सङ्ख्या र धर्मसंस्कृतिप्रति हाल देखिने गरेको जनचासोलाई आधार मानेर नेपाल अहिले धार्मिक र सांस्कृतिक हिसाबले पुनर्जागरणको युगमा रहेको बताउनुभयो । यस्ता पुस्तक प्रकाशनले पुनर्जागरणमा टेवा दिने उहाँको भनाइ थियो ।

पुस्तकका सर्जक कोइरालाले सम्बन्धित क्षेत्रका विद्वान् विदुषीलाई झक्झक्याउन पुस्तक लेखेको स्पष्ट पार्नुभयो । स्व पं सुवेदीका पुत्र भारद्वाज मित्रले आफ्ना पिताले धर्म संस्कृति संरक्षणमा गर्नुभएको योगदानको स्मरण गर्दै यो पुस्तकलाई नौमती बाजाका साथ सङ्गीतबद्ध गर्ने प्रतिज्ञा गर्नुभयो ।

आयोजक संस्थाका सभापति कल्पना सेवानी घिमिरे, सदस्य सचिव श्यामकृष्ण सुवेदी, सह प्रा डा मुकुन्दप्रसाद लामिछानेलगायतले संस्थाको उद्देश्यअनुरूप पुस्तक प्रकाशन गरिएको बताउनुभयो । कार्यक्रम संस्थाका पण्डितहरूको वैदिक मङ्गलाचरणबाट सुरु भएको थियो । –रासस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*