रात्रिकालिन व्यवसायीद्धारा एक हप्ताभित्र व्यवसाय संचालन गर्न नदिए आन्दोलन गर्ने चेतावनी

१६ माघ २०७८, आईतवार १२:५६

काठमाडौं । कोरोना महामारी तीव्र रुपमा फैलिएपछि सरकारले रोक लगाएको रात्रिकालिन सेवाहरु पुनः संचालनमा ल्याउन पाउने रात्रिकालिन व्यवसायीहरुले माग गरेका छन् ।

शुक्रबार आयोजित कार्यक्रममा व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय संचालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी समेत दिएका छन् । व्यवासायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै दरबारमार्ग व्यवसायी संघ (किङ्स लाउन्ज)का संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न नदिए आफूहरु लाखौंको संख्यामा एकसाथ सडकमा उत्रने चेतावनी दिए । उनले भने,‘वार्षिक ५ अर्बसम्म कर बुझाउने हाम्रो व्यवसाय बन्द हुँदा आत्महत्याको अवस्थामा पुगिसक्यौं । हाम्रा लागि सडकमा उत्रनुको विकल्प छैन ।’ गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायमा पुगेर आफुहरुको पीडा सुनाए पनि सुनुवाई नभएको बताए ।

गुरुङले रात्रिकालिन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्ने र सबैभन्दा पछि खोलिने गरिएको भन्दै असन्तुष्टि पोखे । यस क्षेत्रमा काम गर्ने हजारौं बेरोजगार भई देशमा अर्को संकट आउने खतरा औल्याए । उनले भने,‘सार्वजनिक स्थानमा हजारौको संख्यामा भेला हुँदा कोरोना नसर्ने तर राती ८ बजेपछि मात्र कोरोना सर्ने ?’ उनले प्रश्न गरे ।

अमेरिका जस्ता ठुलो देशमा पहिलो यही पेशा बन्द गरिए पनि पछिल्लो समयमा भने खुलाएको बताए । नेपालमा कुनै आधार नभई बन्द गरिएकोमा आफूहरुको आपत्ति रहेको सुनाए । उनले भने,‘यो पेशाको आधारमा मात्रै कतिलाई कोरोना सर्यो र यो व्यवसाय बन्द गर्दा कति कोराना घट्यो ? त्यसको कुनै डाटा छैन् बिना आधार हाम्रो व्यवसाय बन्द गरिदैछ ।’ देशमा राज्य नभएको महशुश गरिरहेको बताए ।

कानुनी राज्य भएको देशमा सबै पेशा व्यवसायको सुरक्षित र व्यवस्थित हुनुपर्नेमा उनले जोड दिए । राज्यलाई आफुहरुको समस्याको समाधान गर्न उनले आग्रह गरे । सरकारले सञ्चालन गर्ने अनुमति दिएमा आफुहरुले आदेशको उल्लघंन नगरी रात्रिकालिन व्यवसायहरु संचालन गर्ने पनि बताए । धेरै जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेको बताए ।

रात्रिकालिन मनोरन्जन व्यवसायको अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन वाध्य हुने चेतावनी दिए । उनले भने, ‘एक लाख व्यवसायीहरु र ३ लाख मजदुर एकसाथ सडकमा उत्रनेछौ, समयमै सरकारको चेत खुलोस् ।’ आफ्ना समस्याहरु सुनाउन धेरै मन्त्रालयलमा पुगिसकेको बताए । तर, आश्वासन आउने कार्यान्वयन नहुने गरेको बताए ।

जिम्मेवार निकायमा पुग्दा आफूहरुले व्यवसाय तत्काल सञ्चालन गर्न पाउनेमा ढुक्क नभएको खड्काले बताए । उनले भने,‘उहाँहरुले जति सक्दो चाँडो खुलाउने आश्वासन दिनुभएको छ तर कार्यान्वयन हुनेमा ढुक्क छैनौं ।’ उनले अन्य पेशा व्यवसायलाई जस्तै रात्रिकालिन व्यवसाय पनि स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चानल गर्न पाउनुपर्ने माग राखे । उनले भने,‘हामीपनि अन्य व्यवसायी जस्तै हौ । आफूहरुले कानून अनुसार व्यवसाय गर्ने अधिकार पाउनुपर्ने बताए । त्यसको तत्काल वातावरण बनाइदिन आग्रह गरे ।

त्यस्तै, दोहोरी व्यवसायी संघको अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकिालिन व्यवसाय बन्द हुँदा कामदाहरुले धमाधम आत्महत्या गरिरहेको बताए । आफूहरुका लागि अब संघर्षमा उत्रनुको विकल्प नभएको बताए । उनले भने,‘कोरोना पहिलो र दोस्रो भेरियन्टको समयमा २ सय ५० जना भन्दा बढी कामदारले आत्महत्या गरिसके ।’ सरकारले विना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा संचालक मात्र नभएर त्यहाँ कार्यरत श्रमिकहरुको समेत बिजोग भएको बताए । यसले सामाजिक र आर्थिक क्षेत्रमा दूरगामी समस्या आइसक्दा पनि सरकारको चेत नखुलेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*