जुम्लामा उन्नत जातका गहुँको बीउ उत्पादन हुने

२० माघ २०७८, बिहीबार ०२:३०

खलङ्गा । कृषि विकास कार्यालय जुम्लाले बीउको कमी हुन नदिनका लागि जिल्लामा उन्नत जातका गहुँको बीउ उत्पादनमा लागेको छ । यसअघि जिल्लामा स्थानीय गहुँ उत्पादन हुने गरेकामा अहिले गहुँको उन्नत जातका बीउ उत्पादनमा कार्यालय अग्रसर भएको निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए । स्थानीय कृषकलाई अनुदानमा बीउ उपलब्ध गर्न यहाँको तातोपानी गाउँपालिका–१ स्थित बाइराँकामा उन्नत जातको गहुँको बीउ उत्पादन गर्न लागेका जानकारी दिए ।

सो स्थानमा ६०० केजी बीउ किसानलाई उपलब्ध गराएको कार्यालय प्रमुख अधिकारीले बताए । अहिले जुम्ला जिल्लाका सबै ठाउँमा स्थानीय बाह्रबिसे जातको गहुँ खेती गरिन्छ । यो तयार हुन अलि ढिलो हुँदा धान खेती पनि ढिलो हुन जान्छ । उन्नत जातको गहुँ तयार हुन सामान्यतया कम समय लाग्छ र गहुँ पनि तुलनात्मक रूपमा बढी नै उत्पादन हुने हुँदा किसानलाई यो बीउ सिफारिस गरेका कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

मूल बीउ कृषकको ३० प्रतिशत र कार्यालयको ७० प्रतिशत लगानीमा बाँडिएको छ । यस योजनामा बाइराँकाका १३१ किसानले करिब सय रोपनी क्षेत्रफलमा उक्त उन्नत जातका मूल बीउ लगाएको निमित्त कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।
तीन रोपनी जग्गामा उन्नत जातको मूल बीउ लगाएको किसान नारायण शाहीले बताए । स्थानीय गहुँ ढिलो पाक्दा धान लगाउन समस्या हुने गरेको थियो । यसको विकल्प खोजिरहेकै बेला कृषि विकास कार्यालयले उन्नत जातको बीउ अनुदानमा दिएकोले किसानलाई निकै राहत भएको उनीहरू बताउँछन् ।

सरकारले कृृषि बीमा शुल्कमा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । जसका कारण किसानहरु कृषि बीमामा आकर्षण बढ्दो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*