मलद्वारमा एक करोडको सुन लुकाएर ल्याए, जहाजबाट ओर्लने वित्तिकै पक्राउ परे

२० माघ २०७८, बिहीबार २२:१९

काठमाडौं । सधैं जसो सारजाहबाट आएको एयर अरेबियाको जहाज ल्याण्ड भयो, यात्रुहरु सबै ओर्लिए । अध्यागमन पार गरेपछि भन्सारको चेक प्वाईन्टमा आउने वित्तिकै मलद्वारभित्र झण्डै एक करोड रुपैयाँको सुन लुकाएर नेपालभित्र प्रवेश गराउँदै गरेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका दावा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।

सुन लुकाएर ल्याउँदै गर्ने कार्यमा संलग्न तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद गरेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१० का ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरिका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपलिका–३ का दावाछिरिङ शेर्पा छन् । उनीहरुमध्ये शेर्पाले सुन मलद्धारभित्र लुकाएर ल्याएका थिए । तौलिँदा उक्त सुन एक किलो ५५ ग्राम रहेको फेला परेको छ । उनी एयर अरेवियामार्फत सारजहाँ विमानस्थलबाट नेपाल आएका थिए ।

तीनै जनालाई बुधबार अपराह्न पक्राउ गरेको भए पनि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी आज सार्वजनिक गरिएको हो । साह र परियार दुबईबाट हिमालयन एयरमार्फत नेपाल आएका थिए । साहबाट चार थान आइफोन तथा ५० ग्रामको सुनको औँठी र सिक्री बरामद गरिएको छ । यस्तै परियारबाट आइफोन एक थान र सुनको बेरुवा औँठी दुई थान बरामद गरिएको छ । तीनै जनालाई बरामद सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*