फागुन १ गतेबाट सबै विद्यालय खुल्ला हुँदै, तयारी के छ ?

२२ माघ २०७८, शनिबार १६:५३

काठमाडौं । कोरोना भाइरसको प्रकोप न्यूनिकरणको लागि सरकारले माघ देखि बन्द गरेको विद्यालय आगामी फागुन १ गतेबाट खोल्ने तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारी केही कम हुँदै गएसँगै सरकारले विद्यालय खोल्ने तयारी गरेको हो । यस पटकको ओमिक्रोन भेरिएन्टको संक्रमण अस्पताल बस्नै पर्ने अवस्था नदेखेपछि सरकारले विद्यालय खुल्ला गर्ने योजना बनाउन लागेको जनाएको छ ।

सोही आधारमा त्रिभुवन विश्व विद्यालयले यसअघि स्थगित भएका परिक्षाहरु सुचारु गर्ने निर्णय गरिसकेको छ । तर, विद्यालयहरु कहिलेबाट सुरु गर्ने भनेर निर्णय आइसकेको छैन । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र्र (सिसिएमी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य गरिएको जानकारी दिएको छ ।

सिसिएमसीका प्रमुख एवं प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

छलफलमा यही माघ २५ गतेसम्म कोभिडविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले निचोड निकालेको छ । त्यसपछि विद्यालय खोल्ने तयारी गरिएको हो ।

यद्यपि सिसीएमसीले विद्यालय खोल्ने निर्णय जिल्लास्तरीय तहमा डिसिएमसीको बैठक बसेर निर्णय गर्नसक्ने अधिकार दिने गरी पूर्व तयारी भइरहेको जनाइएको छ । सरकारले विद्यालय खुल्ला गर्ने निर्णय गरेको अवस्थमा विद्यालयहरुले कक्षा सञ्चालनको लागि स्वास्थ्य मापदण्ड लगायतको तयारी पूरा गरेर बस्नुपर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*