बस र ट्रक ठोक्किदा आगो लागी, तीनको मृत्यु

२२ माघ २०७८, शनिबार १७:०७

इनरुवा । सुनसरीको कोसी गाउँपालिका– १ लौकहीस्थित खुनियाधारमा गएराति बस र ट्रक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका बस र ट्रक आपसमा ठोक्किँदा आगोलागी भएको थियो । घाइते अवस्थाका यात्रुहरु आगोले समेत जलेपछि मृत्यु भएको हो ।

मृत्यु हुनेमा बस चालक झापा गोलधापका ४५ वर्षीय सरोज राई, बसको पछाडि सवार भारत पश्चिमबङ्गाल कालचिनी बस्ने २३ वर्षीय निहाल प्रधान र ट्रकचालक बारा निजगढ–९ का २७ वर्षीय शेख फिरोज रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । दुर्घटनामा दुवै सवारी साधनका चालकका मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये १० जनाको उपचार भइरहेको छ भने अन्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये नौजनाको न्युरो अस्पताल विराटनगर र एकजनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंको सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंको यात्रुवाहक बस एकापसमा ठोक्ँिकदा दुर्घटना भएको थियो । दुर्घटनापछि भएको आगलागीका कारणले तीन जनाको जलेर मृत्यु भएको छ भने सवारीसाधन पूर्ण रुपले जलेर नष्ट भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न स्थानीय तहबाट गएको बारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

घटनामा ठूलो रकम बीमा दावी पर्नेछ । दुवै सार्वजनिक सवारी साधन भएकोले तेस्रो पक्ष बीमा तथा अन्य बीमा दावी बापत लाखौं रुपैयाँ बीमा कम्पनीले व्यहोर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*