बीमा कम्पनीहरुलाई मर्जरका लागि दवाव दिँदै बीमा समिति, १५ गते शेयरधनीसमेतलाई उपस्थित हुन निर्देशन
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई मर्जरका लागि धम्कीपूर्ण दवाव दिने तयारी गरिरहेको छ । बीमा समितिका अध्यक्षले सबै बीमा कम्पनीहरुलाई निश्चित समयसीमा तोकेर मर्जरमा जान दवावपूर्ण निर्देशन दिन लागेका हुन् ।
पुँजि बृद्धिको कार्ययोजना बुझाईसकेका सबै निर्जिवन बीमा कम्पनीहरुलाई बीमा समितिले भोलि बैशाख १५ गते अपरान्ह ३ः३० बजे काठमाडौंको एक होटलमा उपस्थित हुन निर्देशन दिएका छन् । बीमा समितिले सबै निर्जिवन बीमा कम्पनीका सिईओ, अध्यक्ष तथा मुख्य शेयरधनीका एक जना प्रतिनिधिसहित उपस्थित हुन निर्देशन जारी गरेको हो ।
भोलिको बैठकमा बीमा समितिका अध्यक्षले निश्चित समय सीमाभित्र मर्जरमा जान नमान्ने बीमा कम्पनीका अध्यक्ष, सञ्चालक तथा सिईओलाई कारवाही गर्ने धम्की दिन लागेको चर्चा बीमा क्षेत्रमा चलेको छ ।
भोलिको बैठकमा नेपालमा बीमा कम्पनीहरु धेरै भएकोले मर्जरमा जानु अपरिहार्य रहेको भन्दै बीमा समितिका अध्यक्षले बीमा कम्पनीका अध्यक्ष, मुख्य शेयर रहेका सञ्चालक र सिईओलाई भन्ने तयारी गरेका छन् । अधिकांश बीमा कम्पनीहरुले पुँजि बृद्धिको योजनामा हकप्रदलाई अघि सारेपछि बीमा समितिले मर्जरमा जान दवाव दिन लागेको जनाइएको छ ।
बीमा समितिले आफ्नै हल हुँदा हुँदै महंगो होटलमा अध्यक्ष, सञ्चालक तथा सिईओलाई बोलाएको बारेमा प्रष्ट पारेको छैन । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले मर्जरका लागि गरेको हतारोले बीमा समितिभित्र नयाँ केही कुरा पाक्दै गरेको संकेत गरेको छ । यसअघि यस्तै हतारो गरेर हिमालयन रिलाई पुनर्बीमा लाईसेन्स दिइएको थियो ।
उक्त बैठकमा बीमा कम्पनीहरुको तर्फबाट ५८ जना, बीमा समितिका तर्फबाट अध्यक्ष सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल र अन्य केही निर्देशकहरु सहभागी हुनेछन् ।