चिया उद्योगका ६० हजार श्रमिक बेरोजगार

काठमाडौं । भारतीय अवरोधका कारण चिया निर्यात अवरुद्ध भएपछि झापाको चिया उद्योगमा कार्यरत ६० हजार श्रमिक बेरोजगार भएका छन्।
इलामका ५६ वटा उद्योगहरू बन्द भएकोमा झापाका ३० भन्दा बढी चिया उद्योग र झण्डै २ दर्जन चिया बगानहरू पूर्णरूपमा बन्द हुन पुगेका छन्।
सरकारले कूटनीतिक पहलमार्फत समस्या समाधानमा ठोस चासो नदिएपछि बाध्य भएर उद्योग नै बन्द गर्नुपरेको चिया उत्पादक संघले बताएको छ।
चिया उद्योगीहरूले समस्या समाधानका लागि पटकपटक सरकार समक्ष गुनासो राख्दा पनि प्रभावकारी समन्वय हुन नसकेको बताएका छन्। निर्यात ठप्प हुँदा उद्योगका गोदामहरू तयारी चियाले भरिपूर्ण भएका छन् भने चाँडै निर्यात गर्न नसके सड्ने चिन्तामा उद्योगीहरू रहेका छन्।
कुल उत्पादनमध्ये ५ अर्ब रुपैयाँभन्दा बढीको चिया भारतमा मात्रै निर्यात हुँदै आएको थियो। चिया निर्यात ठप्प भएर उद्योग बन्द हुन जाँदा उद्योगसँग प्रत्यक्ष रूपमा आश्रित ६० हजार श्रमिक बेरोजगार बन्ने भएका छन्।











