एमसीसी सम्झौता नेपाल राजपत्रमा प्रकाशित

१८ बैशाख २०७९, आईतवार १४:५७

काठमाडौं । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ ।कुल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच २०७४ भदौ २९ गते अनुदान सहायता सम्झौता भएको थियो ।

नेपालको संविधानको धारा २७९ बमोजिम अनुमोदन गरेको र सो को नेपाली र अङ्ग्रेजी भाषाको प्रामाणिक प्रति नेपाल सन्धि ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि राजपत्रमा प्रकाशन भएको छ।

ऊर्जा व्यापारलाई सहजीकरण गरी नेपालको विद्युत् ग्रिडमा विद्युत् आपूर्तिको उपलब्धता तथा स्थिरतामा सुधार गरी विद्युत्को उपभोगमा वृद्धि गर्ने र रणनीतिक सडक सञ्जालमा सडकको गुणस्तर कायम गर्ने विषय सो परियोजनाको उद्देश्यका रूपमा रहेको छ । सम्झौताअनुसार एमसीसीले नेपाललाई ४५ करोड ९५ लाख अमेरिकी डलर बराबरको रकम उपलब्ध गराउनेछ ।वित्तीय व्यवस्थाका अतिरिक्त थप ४ करोड ५ लाख डलरबराबरको रकमसमेत उपलब्ध हुनेछ।

काठमाडौंको नाङ्लेभारेबाट सुरु हुने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलको न्यू बुटवल सबस्टेसनमा जोडिनेछ । यस्तै गल्छीबाट अर्को लाइन हेटौंडा जानेछ ।५ वर्षभित्र सम्पन्न गर्नुपर्ने समयसीमा हुने भएकाले हाल पूर्व तयारीका सबै काम अगाडि बढिरहेको एमसीए नेपालले जनाएको छ।

केही दिन पहिले मात्रै सडक विभागमा सडक निर्माणको गुणस्तरसम्बन्धी प्रयोगशाला स्थापना भएको छ । यस्तै, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार वन क्षेत्रको जग्गा प्रयोग, मुआब्जा वितरणलगायतको कामसमेत सुरु हुने प्रक्रियामा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*