असंलग्न आन्दोलनको स्मरणसभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

८ भाद्र २०८३, सोमबार १३:०२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुन आगामी १४ भदौमा सर्बिया जाने भएका छन् ।

सर्बियाको राजधानी बेलग्रेडमा १५ र १६ भदौमा आयोजना हुने स्मरणसभामा मन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । कार्यक्रममा नेपालबाट परराष्ट्रमन्त्रीसहित तीन सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ ।

नेपाल सरकारले २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकमार्फत उक्त अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको थियो ।

सन् १९६१ मा बेलग्रेड शहरमा असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । सोही सम्मेलनको ६५ वर्ष पूरा भएको अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो । स्मरणसभामा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख, उच्चस्तरीय प्रतिनिधिमण्डल र असंलग्न आन्दोलनमा आबद्ध मुलुकका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

नेपालले लामो समयदेखि आफ्नो परराष्ट्र नीतिको महत्वपूर्ण आधारका रूपमा असंलग्नताको सिद्धान्तलाई स्वीकार गर्दै आएको छ । यही नीतिगत प्रतिबद्धताअनुसार नेपालले असंलग्न आन्दोलनसँग सम्बन्धित अन्तर्राष्ट्रिय गतिविधिमा सहभागिता जनाउँदै आएको छ । परराष्ट्रमन्त्री खनाल १४ भदौमा सर्बिया प्रस्थान गरी कार्यक्रम सम्पन्न भएपछि १७ भदौमा नेपाल फर्कने कार्यतालिका रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*