नेपाल टेलिकमले माग्यो ब्रोकरको सूची, १० अर्बको कारोबार अनिवार्य

८ भाद्र २०८३, सोमबार १०:१८

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा प्रदायक कम्पनीको सूची दर्ता गर्न प्रस्ताव आह्वान गरेको छ।

टेलिकमले चालु आर्थिक वर्षमा आवश्यक पर्ने धितोपत्र दलाल सेवा उपलब्ध गराउन योग्यता पुगेका कम्पनीलाई सूची दर्ताका लागि आवेदन दिन आग्रह गरेको हो।

सूचीकरणका लागि इच्छुक ब्रोकर कम्पनी प्रचलित कानुनअनुसार कम्पनी वा संगठित संस्थाका रूपमा दर्ता भएको हुनुपर्नेछ। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम अनुमति प्राप्त गरी अद्यावधिक नवीकरण गरेको तथा स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ।

टेलिकमका अनुसार ब्रोकर कम्पनीले नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको हुनुपर्नेछ। आर्थिक वर्ष २०८१/८२ को खुद कार्यशील पुँजी धनात्मक रहेको र सोही आर्थिक वर्षको करचुक्ता प्रमाणसमेत पेस गर्नुपर्नेछ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा धितोपत्र खरिद–बिक्रीको औसत वार्षिक कारोबार रकम १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ। ब्रोकरका रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव पनि अनिवार्य गरिएको छ।

सूचीकरणका लागि कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएको कम्पनी, संगठित संस्था वा अन्य संगठित संस्थामा धितोपत्र दलालका रूपमा कम्तीमा एक वर्ष काम गरेको अनुभवसमेत हुनुपर्ने टेलिकमले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*