ट्रेड क्रेडिट इन्स्योरेन्सबारे सेमिनार सम्पन्न, डेलक्रेडा नेपालले उधारो कारोबार बीमा सेवा सुरु गर्न सहजिकरण गर्ने

२८ बैशाख २०७९, बुधबार २२:११

काठमाडौं । उधारो कारोबारलाई बीमा गरेर जोखिमरहित बनाउने सम्बन्धमा आज आयोजित अन्तरक्रियाका सहभागीहरुले नेपालमा यसको अपरिहार्य बन्दै गएको भन्दै राष्ट्रिय तथा अन्तरदेशिय उधारो कारोबारमा बीमालाई जोड्नु उपयुक्त हुने राय प्रस्तुत गरेका छन् ।

डेलक्रेडा नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले क्रेडिट ट्रेडको जोखिम व्यवस्थापनबारे गहन छलफल भएको छ । डेलक्रेडा ग्रुपका संस्थापक सिईओ एन्ड्रियाज स्टेनबर्नले उधारो व्यवसायका जोखिम र क्रेडिट इन्स्योरेन्सका बारेमा प्रस्तुती दिएका थिए । संस्थापक सिईओ स्टेनबर्नले नेपालजस्तो मुलुकमा उधारो कारोबारको जोखिम बीमा गर्नुपर्ने बारेमा प्रष्ट पारेका थिए । उधारो व्यवसायलाई जोखिम रहित बनाएर आर्थिक रुपमा मात्रै नभई मानसिक रुपमा समेत नागरिकलाई निश्चिन्त बनाउन क्रेडिट इन्स्योरेन्सले भूमिका खेल्ने प्रस्ट्याएका छन् । कार्यक्रममा जर्मन सिड एलाएन्सका महानिर्देशक आन्ने कार्टेनले ट्रेड क्रेडिटबारेमा प्रस्तुतिकरण दिएकी थिईन् ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशिलदेव सुवेदीले बीमा कम्पनीहरुले क्रेडिट इन्स्योरेन्स सम्बन्धी बीमा प्रडक्ट बनाएर ल्याएमा फास्ट ट्रयाकबाट अनुमति दिन प्रतिबद्धता व्यक्त गरे । निर्देशक सुवेदीले बीमा कम्पनीका कर्मचारीहरुलाई आवश्यक परेको खण्डमा क्रेडिट इन्स्योरेन्सबारेमा तालिम तथा अन्योलताहरु चिर्न सहयोग गर्ने बताए ।

छलफल कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ चंकी क्षेत्रीले नेपाली बीमाको दायरा फराकिलो पार्न नयाँ योजनाले सहयोग गर्ने बताए । उनले पुनर्बीमा गर्नुपर्ने भएकोले क्रेडिट इन्स्योरेन्स सुरक्षित भएको बताए ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका निर्देशक निश्चल अधिकारीले नेपालमा अनौपचारिक कारोबार हुने हुँदा क्रेडिट इन्स्योरेन्सका चुनौतिहरु धेरै रहेको बताए । उनले केन्द्रीय बैंकले क्रेडिट इन्स्योरेन्स अन्तर्गत सामान आयात निर्यात भएमा सहजिकरण गर्न तयार रहेको बताए । साथै अधिकारीले क्रेडिट रेटिङको क्रममा हुनसक्ने डाटा दुरुपयोग अर्को विषय भएको सुझाए ।

एक दिने सेमिनार कार्यक्रमको रिपोर्ट राईटिङ बीमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले गरेका थिए । बीमा क्षेत्रमा राम्रो अध्ययन गरेका महर्जनले क्रेडिट इन्स्योरेन्सबारे निकै राम्रो अध्ययन गरेर सहयोग गरेको डेलक्रेडा ग्रुप जर्मनीका संस्थापक सिईओ स्टेनबर्नले जानकारी दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय क्रेडिट इन्स्योरेन्स एण्ड सियोर्ली एशोसिएशनका कार्यकारी निर्देशक रिचार्ज उल्फले स्वागत मन्तव्य दिँदै क्रेडिट ट्रेड र बीमाद्धारा जोखिम रक्षावरणबारे जानकारी दिएका थिए ।

सो कार्यक्रममा समुहगत छलफलमा सहभागी हुँदै एडभान्स ग्रुपका उपाध्यक्ष राजन झा, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका डुपेटी डाईरेक्टर राजेन्द्र सिंह, नेपाल उद्योग बाणिज्य महासंघका उद्योग तथा कमर्श समितिका अध्यक्ष भरतराज आचार्य, सिमेन्ट उत्पादक संघका अध्यक्ष ई. ध्रुव थापा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा डेलक्रेडा नेपालका म्यानेजिङ पार्टनर रोशन पोखरेलले स्वागत गरेका थिए । पोखरेलले नेपालमा क्रेडिट इन्स्योरेन्स सेवा छिट्टै सुरु गर्न  चाहेमा सहजिकरणका लागि आफूहरू तयार रहेकाे जानकारी दिए । उनले नेपालमा सञ्चालित बीमा कम्पनीहरूले  नियामक निकायबाट अनुमति लिई, सबै एजेन्सीबाट अनुमति प्राप्त भएपछि सेवा सुरु गर्न सकिने बताए। डेलक्रेडा नेपालका प्रमुख पोखरेलले भने ‘सन् २०२० मै स्थापना भएको कम्पनीले कोरोना महामारीका कारण सहजिकरणमा ढिलाई भएपनि अब परामर्श, प्रविधिलगायतका कुरा सहयाेग गर्न सक्छाैं ।’

डेलक्रेडा ग्रुपले जर्मनीमा र रसियामा पहिलो पटक ट्रेड क्रेडिटको जोखिम रक्षावरण गर्न क्रेडिट इन्स्योरेन्सकाे लागि सहजिकरण गरेकाे थियाे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*