ओरियन्टल इन्स्योन्सको खुद बीमाशुल्कमा सामान्य सुधार, खुद नाफा कति ?

२९ बैशाख २०७९, बिहीबार ०८:३३

काठमाडौं । ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमा कोषमा १ अर्ब १४ करोड १९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । इन्स्योरेन्सले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कोषको आकारमा बृद्धि भएको हो ।

गत आवको तुलनामा इन्स्योरेन्सले बीमा कोषको आकार २४.४४ प्रतिशतले बढाएको हो । गत आवको यसै अवधिसम्म इन्स्योरेन्सले ९१ करोड ७६ लाख रुपैयाँ बीमा कोषमा संचित गरेको थियो ।

कोषको आकार बढाउँदै इन्स्योरेन्सले बीमा ब्यवसायमा उल्लेख्य सुधार गरेको छ । यस अवधिसम्म ओरियन्टल इन्स्योरेन्सले ६७ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको तुलनामा ३.८९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले ६५ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिसम्म इन्स्योरेन्सले खुद नाफामा पनि उल्लेख्य सुधार गर्न सफल भएको छ । गत आवको चैत मसान्तसम्म २५ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको इन्स्योरेन्सले चालु आवको यस अवधिसम्म २९.९६ प्रतिशतले बढाएर ३२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

उल्लेख्य नाफा कमाएसँगै इन्स्योरेन्सले जगेडा कोषको आकार ह्वात्तै बढाएको छ । यस अवधिसम्म जगेडा कोषको आकार २८४.३५ प्रतिशतले बढेर ३० करोड ३० लाख रुपैयाँ संचित गर्न सफल भएको छ । गत आवको यसै अवधिसम्म कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ मात्रै संचित गरेको थियो ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको व्यवस्थापन खर्च ७.६५ प्रतिशतले घटेको छ भने लगानी, कर्जा अन्यबाट हुने आम्दानी ७ प्रतिशतले घटेको छ । यस अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ३.८९ प्रतिशतले घटेर ३७ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । यसकारण पनि कम्पनीको नाफामा बृद्धि हुन पुगेको हो ।

साथै भुक्तानी हुन बाँकी दाबी रकम ३१.३७ प्रतिशतले बृद्धि भएर ९३ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म इन्स्योरेन्सको जारी बीमा पोलिसी संख्या २० हजार ९२७ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*