दीर्घकालीन हुने गरी शहरी नीति बनाउँदैछौं: मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परिमार्जित शहरी नीति २०६४ दीर्घकालीन खालको बनाइने बताएकि छिन् । शहरी विकास मन्त्रालयद्वारा शुक्रबार राजधानीमा आयोजित राष्ट्रिय शहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले परिमार्जित शहरी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको बताईन् । मन्त्रालयले संघीयताको मर्मअनुसार शहरी नीति परिमार्जन गर्न लागेको बताउँदै उनले परिमार्जनपछि उक्त नीतिले सबैको आवश्यकता समेट्ने बताएका थिए ।
उनले भने, ’राष्ट्रिय शहरी नीति दीर्घकालीन हुने खालको बनाउँछौं । देशैभर छलफल गरेर शहरी नीति परिमार्जन र शहरी विकास ऐनको मस्यौदा अन्तिम चरण पुयाएका छौं ।’मन्त्रालयका सचिव डा. रमेश सिंहले बसाइ सराई बढ्दो शहरीकरणका लागि चुनौती बनेको उनले बताए । सचिव डा. सिंहले शहरी नीतिमा सुशासन र सुरक्षाको विषयलाई प्रमुखताका साथ समेटिने बताएका छन् । उनले संघीयता कार्यान्वयनका लागि स्थानीय तहको अधिकार क्रमसँगै वितरण गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले परिमार्जित शहरी नीति कार्यान्वयनका लागि सहजीकरण गर्न आफूहरू तयार रहेको बताउनुभयो । यस विषयमा नव निर्वाचित जनप्रतिनिधिलाई समेत प्रशिक्षण दिएर अघि बढ्न उनले दिएको थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा। पुष्परमण वाग्लेले स्वच्छ, सफा र पहिचानसहितको शहरको विषयलाई परिमार्जित नीतिले समेट्नुपर्ने बताउनुभयो । शहरी विकासका लागि तीन तहका सरकार र अन्तर मन्त्रालयबीचको सहकार्य जरुरी रहेकाले नीतिमा यस्ता कुरा समेट्नु पर्नेमा उनले जोड दिएका थिए ।
सुन्दर शहर निर्माणका लागि राष्ट्रिय योजना आयोग सधैं सहयोग र सहकार्य गर्न तयार रहेको समेत डा। वाग्लेले बताउनुभयो । कार्यक्रममा शहरी विज्ञ डा।महेन्द्र सुब्बाले नेपालमा शहरीकरणका क्षेत्रमा देखिएका चुनौतीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले कार्यक्रममा राष्ट्रिय शहरी नीतिको मस्यौदा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्त्रालयका अधिकारीहरूसहित यूएन ह्याबिटेट नेपाल, एसियाली विकास बैंक, नेपाल नेशनल अर्बन फोरमका प्रतिनिधिलगायतको लगायतको सहभागिता थियो ।