बीमा समितिमा नीतिगत भ्रष्टाचार, हिमालयन रिले यसरी पाउँदैछ बार्षिक साढे छ अर्ब

रिना खत्री
३ असार २०७९, शुक्रबार ०९:५०

काठमाडौं । निजि कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई साढे छ अर्बको व्यवसाय दिने निर्णय गरेर बीमा समितिले नीतिगत भ्रष्टाचार गरेको छ । बीमा समितिले हिमालयन रि नामक निजि कम्पनीलाई साढे अर्बको व्यवसाय दिनको लागि नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको बजार हिस्सा समेत खोस्ने निर्णय गरेको छ ।

बीमा समितिको यही जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकमा अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रस्तावमा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई साढे तीन अर्ब रुपैयाँ बजारको नेपालभर हुने बीमाको १० प्रतिशत प्रत्यक्ष हिस्सा दिने निर्णय गरेको हो । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको साढे सात अर्ब व्यवसाय खोसेर हिमालयन रिलाई आधा दिने निर्णय गरेको हो ।

नियामक निकाय बीमा समितिले बीमितको पक्षमा काम गर्नुको साटो माफियाको डिजाईनमा खोलिएको कम्पनीलाई अर्बौ रुपैयाँ दिएर करोडौं रुपैयाँको सेटिङ गरेको छ । स्रोतका अनुसार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा क्षेत्रको इतिहासमा सबैभन्दा ठूलो घोटाला काण्डको रुपमा हिमालयन रिमा घटाउन सफल भएका छन् । एक वर्षे उनको कार्यकालमा हिमालयन रिलाई लाइसेन्स दिँदा तीन अर्बभन्दा बढि घुस लेनदेन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी अझै छानविन टुंगिएको छैन ।
पूर्व सचिव समेत रहेका सिलवाल भ्रष्टाचार र सेटिङमा नम्वर एक मानिन्छन् । उनले बीमा समितिमा सिंहरदवारभित्र मौलाएको भ्रष्टाचार र सेटिङको संस्कृति भित्राउँदै हिमालयन रिलाई अबैध तरिकाले लाईसेन्स दिएका थिए । अहिले अध्यक्ष सिलवाल सोही हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक साढे छ अर्बको व्यवसाय सुनिश्चित गराएका छन् ।

 

बीमा समितिबाट भएको दुई निर्णयले हिमालयन रिलाई बार्षिक साढे छ अर्बभन्दा बढि आम्दानी हुनेछ । चालु आवको पौष मसान्तसम्ममा जम्मा ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हिमालयन रिले बार्षिक छ अर्ब ५० करोडभन्दा बढि आम्दानी गर्नेछ ।

बीमा समितिबाट २०७९ बैशाख २८ गतेको निर्देशन अनुसार हिमालयन रिले बार्षिक तीन अर्ब रुपैयाँ आम्दानी गर्नेछ । त्यस्तै जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकका निर्णय अनुसार हिमालयन रिले बार्षिक साढे तीन अर्ब व्यवसाय नेपाल पुनर्बीमा कम्पनीबाट खोसेको छ । दुई निर्णयबाट हिमालयन रिले कूल छ अर्ब ५० करोड रुपैयाँ आम्दानी गर्नेछ ।

 

बीमा समितिबाट भएको नीतिगत भ्रष्टाचारले माओवादी केन्द्रमा राजनीतिक भविष्य भएको तथा माओवादी अध्यक्ष प्रचण्डको उत्तराधिकारीको रुपमा समेत हेरिएको अर्थमन्त्री जनार्दन शर्माको राजनीतिक छवि ध्वस्त बन्दै गएको छ । अर्थमन्त्री शर्मासँग हिमालयन रिलाई जोडेर बाहिर आएका समाचारहरुले उज्यालोका नायक भनेर चिनिएका अर्थमन्त्री जनार्दन शर्माको राजनीतिक भविष्य समेत दाउमा लाग्न पुगेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमालयन रिका भारतीय सिईओ चन्द्रशेकरण रामामुर्तीसँग मिलेर प्रधानमन्त्री पत्नी आरजु राणा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहालको नाम भजाउँदै अर्थमन्त्री शर्मालाई यस घोटाला काण्डबाट फसाएका छन् । रोचक कुरा चाही के छ भने १० वर्षे जनयुद्धको समयमा गठन गरिएको जनमुक्ति सेनाको डेपुटी कमाण्डर समेत रहेका शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको चक्रब्यूह तोड्न सकेका छैनन् ।

 

 

 

One thought on “बीमा समितिमा नीतिगत भ्रष्टाचार, हिमालयन रिले यसरी पाउँदैछ बार्षिक साढे छ अर्ब

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*