आईपीओ निष्कासनको प्रतीक्षामा ११७ कम्पनी, ७१ अर्ब रुपैयाँभन्दा बढी जुटाउने प्रस्ताव

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति पर्खिरहेका कम्पनीको संख्या ११७ पुगेको छ। कात्तिक ५ गतेसम्मको विवरणअनुसार ती कम्पनीले सर्वसाधारणलाई ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर बिक्री गरी ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँभन्दा बढी पूँजी संकलन गर्ने योजना अघि सारेका छन्।
आईपीओ निष्कासनको स्वीकृति पर्खने कम्पनीमध्ये संख्यात्मक रूपमा जलविद्युत् क्षेत्र अगाडि देखिएको छ भने प्रस्तावित रकमका हिसाबले उत्पादन तथा प्रशोधन क्षेत्रको हिस्सा सबैभन्दा ठूलो छ। यी दुई क्षेत्रका कम्पनीले मात्रै करिब ५४ अर्ब ८० करोड रुपैयाँ जुटाउन अनुमति मागेका छन्। यो कुल प्रस्तावित रकमको झन्डै ७७ प्रतिशत हो।
उत्पादन तथा प्रशोधन क्षेत्रका ३२ कम्पनीले १७ करोड ४१ लाख ९१ हजार ३०३ कित्ता सेयर जारी गरेर ३५ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी संकलन गर्ने प्रस्ताव गरेका छन्। यस क्षेत्रमा प्रस्तावित रकम उच्च हुनुको मुख्य कारण कम्पनीहरूले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न खोज्नु हो। यसले सेयरको संख्या मात्र नभई प्रतिकित्ता मूल्यले पनि पूँजी संकलनको आकार निर्धारण गर्ने देखाउँछ।
यता जलविद्युत् क्षेत्रका ३९ कम्पनी आईपीओ स्वीकृतिको प्रतीक्षामा छन्। उनीहरूले १८ करोड ७३ लाख ५७ हजार ६६२ कित्ता सेयर बिक्रीबाट करिब १९ अर्ब ९ करोड रुपैयाँ जुटाउने प्रस्ताव गरेका छन्। रकमका आधारमा यस क्षेत्रको हिस्सा कुल प्रस्तावित निष्कासनको करिब २६.७३ प्रतिशत छ। सेयर कित्ताका आधारमा भने यसको हिस्सा करिब ३६.७ प्रतिशत रहेको छ।
उत्पादन तथा प्रशोधन र जलविद्युत् क्षेत्रका कम्पनीले प्रस्ताव गरेका सेयरको संख्या जोड्दा ३६ करोड १५ लाख ४८ हजार ९६५ कित्ता पुग्छ। यसअनुसार बोर्डको स्वीकृति पर्खिरहेका कुल सेयरमध्ये करिब ७१ प्रतिशत कित्ता यी दुई क्षेत्रका कम्पनीबाट निष्कासन गर्ने प्रस्ताव गरिएको छ।
होटल तथा पर्यटन क्षेत्रमा पनि सार्वजनिक निष्कासनमार्फत पूँजी जुटाउने तयारी उल्लेख्य छ। यस क्षेत्रका १९ कम्पनीले ५ करोड ९७ लाख १३ हजार ९३० कित्ता सेयर निष्कासन गरी करिब ६ अर्ब ६० करोड रुपैयाँ संकलन गर्न अनुमति मागेका छन्।
त्यस्तै, लगानी समूहका ९ कम्पनीले ३ करोड २० लाख ५३ हजार ६६२ कित्ता सेयर जारी गरेर करिब ३ अर्ब २० करोड रुपैयाँ जुटाउने प्रस्ताव गरेका छन्। लघुबीमा क्षेत्रका तीन कम्पनीले ६७ लाख ५० हजार कित्ता सेयरमार्फत ६७ करोड ५० लाख रुपैयाँ संकलन गर्ने योजना पेस गरेका छन्।
धितोपत्र बोर्डको वर्गीकरणमा ‘अन्य’ समूहमा परेका १५ कम्पनीले पनि ५ करोड ९ लाख १५ हजार ३८९ कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव गरेका छन्। ती कम्पनीले यसबाट करिब ६ अर्ब १३ करोड ९४ लाख रुपैयाँ उठाउने लक्ष्य राखेका छन्।











