कोरोना बीमाको दाबी भुक्तानीको लागि बीमा समितिले अर्थमन्त्रालयसँग माग्यो अनुमति

१६ कार्तिक २०७९, बुधबार १२:०२

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीको लागि बीमा समितिले अर्थमन्त्रालयसँग अनुमति मागेको छ । गत भदौमा सरकारले कोभिड बीमा बापतको दावी भुक्तानी तिर्नको लागि एक अर्ब रुपैयाँ निकासा गरेको थियो । सरकारले करिब १० अर्ब रुपैयाँ तिर्न बाँकी थियो।

सो रकम वितरण गर्न केही समयदेखि छलफल चलिरहेको थियो । समितिले जारी गरेको कोरोना बीमा मापदण्ड, २०७७ अनुसार रकम वितरण गर्न असम्भव भएपछि नयाँ व्यवस्था गर्न लागेको हो ।कोभिड रकम वितरण गर्नका लागि मन्त्रालयमा निर्देशन गरी पाउँ भनेर पत्र पठाएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बताए । ’समितिले रकम वितरण गर्न केही निर्णयहरु सहित मन्त्रालयलाई पत्र पठाएको छ ।

उक्त निर्णयलाई निर्देशन गर्न तिहार अघिनै पत्र पठाए पनि हालसम्म कुनै जानकारी आएको छैन।’–उनले भने– ’सरकारले निकासा गरेको रकम कम भएपछि थप रकम जोहो भएको छ । जसमा बीमा समिति बीमा कम्पनी र पुनर्बीमा कम्पनीबाट थप रकम संकलन गरेर कोभिडको दावी भुक्तानी तिर्न लागेका छौं।’

उनका अनुसार थप ८१ करोड रुपैयाँ कोभिड दाबी भुक्तानी रकम संकलन भएको छ। प्रवक्ता पौडेलका अनुसार समितिले पीसीआर रिपोर्ट दर्ता भएको मिति अनुसार, अनुपातको आधारमा र संघ ,संस्थाले प्रिमियम तिरेको आधारमा रकम वितरण गर्ने निर्णय गरेको छ ।

साथै संघ, संस्थामा कार्यरत कर्मचारीहरुले यस पटक भुक्तानी नपाउनेबारे पनि छलफल भएको बताइएको छ।
यति बेला अन्य सर्वसाधारणलाई पहिले प्राथमिकता दिई दावी भुक्तानी फर्छ्यौट गर्ने निर्णय भएको हो। अर्थको निर्देशन आएलगत्तै रकम वितरण सुरु हुने समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*