एयर ट्राफिक र नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई कारवाही गर्न ई. दीपेन्द्र कँडेलको माग

४ माघ २०७९, बुधबार ०८:४१

काठमाडौं । पब्लिक इन्नोभेटर ई. दीपेन्द्र कँडेलले आइतबार पोखरामा भएको यति एयर लाइन्सको हवाई जहाज दुर्घटनामा नेपालका नियामक निकाय, एयर ट्राफिक कन्ट्रोलर दुवै निकाय दोषी रहेको भन्दै तत्काल कारवाही अघि बढाउन माग गरेका छन् ।

आइतबारको जहाज दुर्घटनाबारे प्रतिक्रिया दिँदै ई. कँडेलले अवतरणको क्रममा रहेको जहाजले एकपछि अर्को श्रृृंखलाबद्ध गल्ती गर्दै गएको तर एयर ट्राफिक कन्ट्रोलरले परिस्थितिलाई सम्हाल्न कुनै भूमिका नदेखिएको भन्दै उनले तत्काल दोषीमाथि कारवाही अघि बढाउन माग गरेका हुन् । पब्लिक इन्नोभेटर कँडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभावकारी नियमन गर्न नसकेकोले सो निकायमा रहेको जिम्मेवार पदाधिकारीहरुलाई समेत कडा कारवाही गर्न माग गरेका छन् । हाल क्यानको महाप्रबन्धक प्रदिप अधिकारी रहेका छन् ।

हाल स्याङ्जास्थित आफ्नी हजुरआमा डिला कुमारी कँडेलको काजकिरियामा रहेका दीपेन्द्र कँडेलले बीमापोष्टसँग टेलिफोन संवादमार्फत नेपाली हवाई आकाश सुरक्षित र मर्यादित नभएको पटक पटक दोहोर्याएका छन् । उनले आफूले यसअघि नै सरकारलाई क्यान र एटिसीको भूमिका दुर्भाग्यपूर्ण रहेको, नेपाली आकाश असुरक्षित रहेकोले तत्काल सुधारात्मक कदम चाल्ने सुझाव सरकारलाई पेश गर्दा समेत कुनै वास्ता नगरिएको आरोप लगाएका छन् ।

 

पब्लिक इन्नोभेटर कँडेलले २०७५ भदौं २५ गते तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई भेटेरै लिखित ज्ञापन पत्र बुझाएका थिए । ई. कँडेलको ज्ञापन पत्रमा नेपालको नागरिक उड्डयनको क्षेत्रमा दर्जनौं समस्याहरु औल्याइएको थियो । सो मध्ये एयर ट्राफिक कन्ट्रोलरहरुको भूमिका र अवस्था समस्याग्रस्त रहेको उल्लेख गरिएको थियो । त्यस्तै, नियामक निकाय क्यानमा समेत पुर्नसंरचना गरेर मात्रै समस्या हल हुनसक्ने सुझाव पेश गरेका थिए ।

स्मरणीयछ तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हवाई दुर्घटनामा निधन भएको थियो । स्व. अधिकारीले आफूले दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताउँदै उतिबेलाको सुझाव कार्यान्वयनमा सरकारले खेलाची गरेको नागरिक उड्डयन क्षेत्रका जानकार समेत रहेका ई. कँडेलले बताए ।

कँडेलले पेश गरेको लिखित सुझावलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली तथा आईकाओका एसियाका रिजनल डाइरेक्टर अरुण मिश्रलाई समेत दिइएको थियो । सो लिखित सुझाव त्यसपछिका सरकारले कार्यान्वयन नगरेको ई. कँडेलको आरोप छ । साथै नागरिक उड्डयन प्राधिकरणको कार्यालयले हवाई क्षेत्रका समस्याहरुको समाधान गर्न कुनै वास्ता र चासो समेत नराखेको बताए । नियमन कमजोर बनेकै कारण नेपाली आकाश असुरक्षित हुँदै गएकोले कारवाहीको दायरामा ल्याएर आगामी दिनमा हवाई यात्रा सुनिश्चित बनाउन उनको सुझाव छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*