कुमारी क्यापिटलको ‘कुमारी सुनौलो लगानी योजना’ आजदेखि निष्काशन

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज (चैत ९ गते) देखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो ।
सोमध्ये हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलले जनाएको छ ।
क्यापिटलले १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा चैत १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।