एशियन लाइफको खुद नाफा १६ करोड नाघ्यो, बीमाशुल्क आम्दानी २२ प्रतिशत वृद्धि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५.७९ प्रतिशतले बढेको हो।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आम्दानी २२.१६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
त्यस्तै कम्पनीको कुल आम्दानी १५.३२ प्रतिशतले वृद्धि भई ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ अर्ब २३ करोड ७६ लाख रुपैयाँ रहेको थियो। यता कम्पनीको कुल खर्च भने १८.४३ प्रतिशतले बढेर ३ अर्ब ४६ करोड २४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै अभिकर्ता कमिसन खर्च २०.४९ प्रतिशतले बढेर २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको जीवन बीमा कोष १२.३९ प्रतिशतले वृद्धि भई ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो कोष ४८ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ रहेको थियो। त्यसैगरी, कम्पनीको जगेडा तथा सञ्चित कोषमा पनि सुधार देखिएको छ। विपत्ति कोष ४.९१ प्रतिशतले बढेर ३४ करोड ५० लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २७.२६ प्रतिशतले वृद्धि भई ६७ करोड ३ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) गत वर्षको ११ रुपैयाँ ६२ पैसाबाट बढेर १२ रुपैयाँ २९ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा रहेको छ। कम्पनीको चुक्ता पुँजी भने ५ अर्ब २५ करोड १२ लाख रुपैयाँमा स्थिर रहेको छ।











