डा. यादव प्रसाद पन्त पत्रकारिता पुरस्कारबाट गजेन्द्र बुढाथोकी सम्मानित

३ मंसिर २०८३, बिहीबार १२:३५

काठमाडौं । टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी डा. यादव प्रसाद पन्त पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै डा. यादव प्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान, नेपालले उनलाई सम्मान गरेको हो।

पूर्वअर्थमन्त्री तथा जलस्रोत मन्त्री डा. यादव प्रसाद पन्तको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित अभिनन्दन तथा सम्मान समर्पण समारोहमा बुढाथोकीलाई पुरस्कार प्रदान गरिएको हो। सोही कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनाललाई पनि अभिनन्दन गरिएको थियो।

सम्मान ग्रहणपछि बुढाथोकीले आर्थिक पत्रकारितामा आफूले गरेको लामो संघर्ष र यात्रालाई स्मरण गरेका छन्। तीन दशकअघि आर्थिक पत्रकारिता सुरु गर्दा यस विषयमा पाठकको रुचि निकै कम रहेको उल्लेख गर्दै उनले आर्थिक समाचारलाई पाठकसम्म पुर्‍याउन सुरुदेखि नै चुनौती सामना गर्नुपरेको बताए।

उनले आर्थिक विषयमा पाठकको रुचि बढ्ने विश्वासका साथ आफ्नो पत्रकारिताको यात्रा निरन्तर अघि बढाएको उल्लेख गरेका छन्। कारोबार दैनिक स्थापना गर्ने यात्रामा समेत आफू सहभागी भएको स्मरण गर्दै उनले आर्थिक पत्रकारितालाई स्थापित गर्न लामो समय योगदान दिएको बताए।

पत्रकारिताको ३३ वर्षे यात्रामा विभिन्न चुनौती र अवरोध सामना गर्नुपरे पनि आफूले आफ्नो बाटो नछाडेको उनको भनाइ छ। पछिल्लो दुई दशकदेखि आर्थिक विषयलाई सरल भाषामा पाठकसमक्ष प्रस्तुत गर्ने प्रयास गर्दै आएको बताउँदै उनले पुरस्कारले आफ्नो कर्मको मूल्याङ्कन समाजले गर्ने रहेछ भन्ने अनुभूति गराएको उल्लेख गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*