लघुवित्तको कर्जा असुलीमा संकट: ३३ संस्थाको खराब कर्जा १० प्रतिशतभन्दा माथि, कुनको अवस्था कस्तो ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जाको अवस्था थप भयावह बन्दै गएको छ । कर्जा असुलीमा देखिएको निरन्तरको चुनौती र बढ्दो निष्क्रिय कर्जाका कारण लघुवित्त क्षेत्रको वित्तीय स्वास्थ्यमा थप दबाब परेको हो ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तहरूको औसत खराब कर्जा बढेर १३ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो कर्जा ८.८६ प्रतिशत थियो । एक वर्षको अवधिमा खराब कर्जा ४.१४ प्रतिशत विन्दुले बढेको देखिन्छ ।
सबैभन्दा बढी खराब कर्जा मातृभूमि लघुवित्तको देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा १०.०३ प्रतिशत रहेको कम्पनीको खराब कर्जा यस वर्षको सोही अवधिमा बढेर २७.०२ प्रतिशत पुगेको छ । एक वर्षमै १६.९९ प्रतिशत विन्दुको वृद्धि हुनु कम्पनीको कर्जा असुलीमा देखिएको गम्भीर चुनौती हो ।
खराब कर्जाका आधारमा दोस्रो स्थानमा रहेको नेरुडे मिर्मिरे लघुवित्तको अनुपात १५.७० प्रतिशतबाट बढेर २१.७३ प्रतिशत पुगेको छ । त्यस्तै, आरम्भ चौतारी लघुवित्तको खराब कर्जा ४.२२ प्रतिशतबाट बढेर २१.२६ प्रतिशत पुगेको छ । धौलागिरी लघुवित्तको खराब कर्जा २०.५२ प्रतिशतबाट सामान्य बढेर २१.०५ प्रतिशत पुगेको छ भने समता घरेलु लघुवित्तको ११.१४ प्रतिशतबाट बढेर २०.५० प्रतिशत पुगेको छ ।

खराब कर्जा २० प्रतिशतभन्दा माथि पुगेका संस्थामा यी पाँच लघुवित्त मात्रै छन् । यसबाहेक स्वस्तिक लघुवित्तको खराब कर्जा १९.८५ प्रतिशत, युनिक नेपाल लघुवित्तको १९.८३ प्रतिशत, विजय लघुवित्तको १९.६८ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको १९.५२ प्रतिशत र मेरो माइक्रोफाइनान्सको १९.२४ प्रतिशत पुगेको छ । जनउत्थान सामुदायिक लघुवित्तको खराब कर्जा १९.१५ प्रतिशत र फर्वार्ड माइक्रोफाइनान्सको १८.१३ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा खराब कर्जामा सबैभन्दा ठूलो वृद्धि आरम्भ चौतारी लघुवित्तपछि मातृभूमि लघुवित्तमा देखिएको छ । जनउत्थान सामुदायिक लघुवित्तको खराब कर्जा ७.८१ प्रतिशतबाट बढेर १९.१५ प्रतिशत पुगेको छ । महिला लघुवित्तको २.२४ प्रतिशतबाट बढेर १३.२१ प्रतिशत पुगेको छ भने गणपति लघुवित्तको ४.७९ प्रतिशतबाट बढेर १४.२७ प्रतिशत पुगेको छ । एनएमबी माइक्रोफाइनान्सको खराब कर्जा ४.६३ प्रतिशतबाट बढेर १२.८९ प्रतिशत र ग्रामिण विकास लघुवित्तको ४.६९ प्रतिशतबाट बढेर ११.८९ प्रतिशत पुगेको छ । मिथिला, सम्पदा, स्वाभिमान, सीवाईसी नेपाल, हिमालयन, ग्लोबल आइएमई, उपकार र समता घरेलु लगायतका संस्थामा पनि खराब कर्जा बढेको छ ।
यद्यपि, केही लघुवित्त संस्थाले खराब कर्जा घटाउन सफल भएका छन् । सूर्योदय वोमी लघुवित्तको खराब कर्जा गत वर्षको १८.६८ प्रतिशतबाट घटेर ११.८४ प्रतिशतमा झरेको छ । एनआईसी एशिया लघुवित्तको खराब कर्जा १७.०६ प्रतिशतबाट घटेर १३.८९ प्रतिशतमा आएको छ । आत्मनिर्भर लघुवित्तको १२.८३ प्रतिशतबाट घटेर १०.५१ प्रतिशत, स्वावलम्बन लघुवित्तको ११.९४ प्रतिशतबाट घटेर ९.७९ प्रतिशत र डिप्रोक्स लघुवित्तको ८.७३ प्रतिशतबाट घटेर ६.७० प्रतिशत कायम भएको छ । फर्स्ट माइक्रोफाइनान्सको खराब कर्जा ४.२४ प्रतिशतबाट घटेर १.९७ प्रतिशतमा सीमित भएको छ ।
तीन महिनामा लघुवित्तले कमाए २ अर्ब १३ करोड नाफाः ८ कम्पनीको १० करोडमाथि, अझै ७ संस्था ऋणात्मक











