पहिलोपटक इन्साइडर ट्रेडिङको अभियोगमा गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर

९ चैत्र २०७९, बिहीबार १८:५२

काठमाडौंं । गुरुप्रसाद न्यौपानेले भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । उनी रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष समेत हुन् । सूचीकृत संगठित संस्था रिडी पावर कम्पनी लि।का तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने उपर भित्री कारोबारको कसुरमा नेपाल धितोपत्र बोर्डले सरकारी वकिलको सहयोगमा मुद्दा दर्ता गरेको हो । भित्री कारोबार सम्बन्धमा यसरी अदालतमा मुद्दा दर्ता भएको नेपालमा पहिलो घटना हो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा ९१० बमोजिमको सजायको माग दाबी लिई बुधबार जिल्ला अदालत बबरमहल, काठमाडौंमा मुद्दा दायर गरिएको हो । बोर्डको अनुसन्धानबाट न्यौपानेले ३ करोड २३ लाख रुपैयाँ बराबरको विगो कसुर गरेको खुल्न आएको छ । अदालतले पनि न्यौपानेलाई दोषी ठहर गरेको हकमा न्यौपानेले ३ करोड २३ लाख बिगो र सो बराबर जरिवानासहित एक वर्ष जेल बस्नु पर्ने व्यवस्था धितोपत्र ऐनमा छ ।

न्यौपानेले भित्री कारोबार गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत नेपाल धितोपत्र बोर्डले बुधबार अदालतमा मुद्दा दायर गरेको हो ।न्यौपानेले पदमा बहाल रहेको अवस्थामा २०७७ चैत १९ देखि २०७८ साउन २४ सम्म खरिद(बिक्री गरेको विषयमा तहकिकात गर्दा भित्री कारोबार भएको पुष्टि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*