भागेको भनिएकी आरजु राणा हटौडामा, मध्येराति प्रहरीको स्कर्टिङमा काठमाडौं भित्रिईन

२९ बैशाख २०८०, शुक्रबार १२:०८

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएकी आरजु राणा भागेको भन्ने हल्ला व्यापक रुपमा सामाजिक सञ्जालमा चलिरहेको छ । बीमापोष्टले गरेको खोजविनको क्रममा आरजु राणा भागेको नभई भारतीय सीमा नाका बीरगन्ज सम्म पुगे पनि कतै नभागेको बरु हिजो दिनभर हेटौडामा कार्यक्रममा व्यस्त रहेको तथ्य खुलेको छ । उनी हिजै मध्येराति काठमाडौं भित्रिएकी पुष्टि भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री पत्नी आरजु राणाको संलग्नता रहेको भन्नै पक्राउ परेका आरोपीहरुले बयानमा लेखाएका छन् भने सार्वजनिक भएको तर प्रमाणित नभएको एक अडियो संवादमा आरजु राणाले साढे दुई करोड रुपैयाँ बुझिलिएको उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि बेला पक्राउ पर्न सक्ने भयमा रहेकी आरजु राणा भागेको भन्ने हल्ला हिजो दिनभरी नै चल्यो । तर, आरजु राणा भने हिजो दिनभर बीरगन्ज हुँदै हेटौडामा आएर दुई वटा कार्यक्रममा सहभागी भएकी थिईन् । बीरगन्जबाट हेटौडा आईपुगे लगत्तै उनले होटल सामनामा आयोजित प्रदेश नीति तथा योजना सम्बन्धी कार्यक्रममा सहभागी भईन् ।

त्यसपछि उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण प्रसाद अग्रवालले स्थापना गरेको स्वदेशी सुपरमार्केटको उद्घाटन गरेकी थिइन् । सामान्यतया तनाव नदेखिएकी र सामान्य रुपमा सार्वजनिक कार्यक्रममा भएकी आरजु राणालाई हिजै राति अबेर मकवानपुर प्रहरीले स्कर्टिङ गरेर ललितपुरको भट्टेडाँडासम्म छोडेको थियो । प्रहरी स्रोतका अनुसार आरजु सवार गाडी थापाथली क्रस हुँदासम्म ललितपुर प्रहरीले सूचना लिएर रिपोर्टिङ गरेको र उनी हिजै आफ्नै निवासमा फर्केकी थिइन् ।

देउवाको सचिवालयले पनि आरजु राणा काठमाडौंमै रहेको र कतै नभागेको प्रष्ट पारेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका सचिव टेक नारायण पाण्डेसँग महानगरीय प्रहरी आयुक्त कार्यालयमा भेट गरेको आरोप लागेपछि आरजु राणा थप तनावमा परेकी थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*