बैंकहरुको चेक बाउन्सको जस्तै आइपीओ भर्दा खातामा रित्तै राखे कारवाहीमा पर्नुहोला हौ !

काठमाडौं । अब बैंकहरुको चेक बाउन्सको सिस्टम जस्तै शेयर लगानीकर्तालाई कारबाहीमा पर्ने भएको छ।बैंकहरुमा तपाईले दिएको चेक अपर्याप्त मौज्दातका कारणसटही वा भुक्तानी हुन सकेन भने कालोसूचीमा पर्ने प्रावधान रहेको छ।
सीडीएस एन्ड क्लियरिङ (सीडीएसस) लिमिटेडले आफ्नो बैंक खातामा रहेको रकमभन्दा बढीको आईपीओ भर्ने शेयर लगानीकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झुटा वा जालसाजी कारोबारयुक्त हुने भएकाले कारबाही गर्ने चेतावनी दिएको हो ।
’’संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झूटा एवं जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐन अनुसार कानूनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ,’’ सूचनामा भनिएको छ ।
घोराही सिमेन्ट्सको आईपीओमा लगानीकर्ताहरूले आफ्नो खातामा भएको रकमभन्दा बढीको आवेदन दिएको पाइएपछि सीडीएससीले सूचना निकाल्दै शेयर लगानीकर्तालाई यस्तो चेतावनी दिएको हो ।