श्रीमती हत्या गरी एक करोड लिएका देवानबाट एशियन लाइफमै फर्कियो ३० लाख रुपैयाँ, साँघुरो दायरामा अनुसन्धान गर्दै प्रहरी

१ भाद्र २०८०, शुक्रबार १२:०९

काठमाडौं । बीमा दावी भुक्तानीको लागि आफ्नै श्रीमतीको सलले बेरेर हत्या गरिएको बारा कलैयाको घटनाको सम्बन्धमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका उच्च तहका कर्मचारीहरुको गम्भिर त्रुटी मात्रै नभई संलग्नताकै आशंका गरिएको छ । यद्यपि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होबिन्द्र बोगटीले बीमा कम्पनीमाथि कुनै आशंकाको दृष्टिले नहेरिएको जानकारी बीमापोष्टलाई दिएका छन् ।

तर, घटनाको सम्बन्धमा प्राप्त तथ्यले बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्स उच्च तहका उच्च अधिकारीहरुकै संलग्नताको आशंका गर्ने आधारहरु अगाडि आएको छ । बीमापोष्टलाई प्राप्त जानकारी अनुसार गत असार ३१ गते दावी भुक्तानी भए लगत्तै कूल दावी भुक्तानी गरिएको एक करोड दुई लाख मध्ये ३० लाख रुपैयाँ तत्कालै एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा फिर्ता ल्याएको थियो । कम्पनीको कलैया शाखाले श्रीमतीको हत्या गरी बीमा दावी भुक्तानी बुझेका नाथु देवानको दुई सन्तानको नाममा ३० लाख रुपैयाँको बीमा पोलिसी काटेर सो रकम फिर्ता ल्याएको थियो । २०८० साउन २ गते एशियन लाइफको कार्यालयमा बुझ्न खोज्दा नाथु देवानको छोरा र छोरीको नाममा कूल ३० लाखका दुई वटा बीमा पोलिसी जारी गरेको फेला परेको थियो ।

सामान्यतया बीमा दावी भुक्तानी दिएपछि लगत्तै पुनः बीमा गर्नु भनेर सो रकम फिर्ता ल्याउन पाइदैन । तर, एशियन लाइफले बीमा दावी भुक्तानी दिएको एक करोड दुई लाख मध्ये ३० लाख कम्पनीमै फिर्ता ल्याउनुले घटना थप सहस्यमय बनेको छ ।

नाथु देवान आफ्नै पनि ५० लाख रुपैयाँको बीमा पोलिसी एशियन लाइफमै छ । उनले तत्कालै थप ३० लाख रुपैयाँको बीमा पोलिसी खरिद गर्ने भन्दै बीमा गरेको पाइएको छ । एशियन लाइफले अपराधिक लाभ हुने गरी बीमा दावी भुक्तानी लिने नाथु देवानसँग पुनः बीमा गरी ३० लाख रुपैयाँ कम्पनीमै फिर्ता ल्याएको स्वीकार गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले भने सबै कानुनी प्रक्रिया पूरा गरेर भुक्तानी दिएको पुनः प्रष्ट पारेको छ । २०७९ भदौंमा श्रीमतीको हत्या गरेपछि देवानले दुर्घटनामा मृत्यु भएको भन्दै प्रहरीमा जाहेरी दिएर शव बुझेको देखिएको छ । कम्पनीले घट्नास्थल मुचुल्का, पोष्टमार्टम रिपोर्ट, भिसेरा परिक्षण लगायतका सबै परिक्षण सम्पन्न गरेपछि पनि प्रहरी प्रतिवेदन मगाएर मात्रै कम्पनीले दावी भुक्तानी दिएको कम्पनीका सूचना अधिकारी डेपुटी सिईओ होम बहादुर श्रेष्ठले जानकारी दिए ।

साथै नेपाल पुनर्बीमा कम्पनीले समेत उक्त घटनाको बारेमा प्रहरीसँग लिखित प्रतिक्रिया माग्दा घटनामा कैफियत नदेखिएको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको भनाई छ ।

बारा प्रहरीकै भूमिका शंकास्पद
हजरा खातुनलाई बीमा दावी भुक्तानी लिई लाभ लिन सलले बेरेर हत्या गरी मोटरसाइकलमा सल बेरिएर मरेको भन्ने प्रहरी प्रतिवेदन बनाएर दावी भुक्तानी लिएको अभियुक्त नाथु देवानले स्वीकार गरिसकेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले भने हजरा खातुनको हत्या अनुसन्धान अत्यन्तै साँघुरा घेरामा गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराले जारी राखेको अनुसन्धानमा प्रहरीले घट्नामा संकास्पद भूमिका देखिएको एशियन लाइफका सिईओसहितका उच्च पदस्थ अधिकारीहरुलाई छानविनको दायरामा राखेको छैन । यसले उक्त घटना मिलाउन प्रहरीले अनुसन्धान प्रभावित पार्ने प्रयास गरेको देखिएको छ ।

गत वर्षको भदौंदेखि एशियन लाइफ र नेपाल पुनर्बीमा कम्पनी दुवै निकायबाट हजरा खातुनको मृत्यु सम्बन्धमा प्रहरीसँग लिखित जवाफ माग गरेका थिए । बारा प्रहरीले लिखित जवाफ दिँदै मृतकको हत्या नभई दुर्घटना भएको प्रतिवेदन बारा प्रहरीले एक पटक होइन दुई पटक दिएको थियो ।

हाल बारा प्रहरीले जारी राखेको अनुसन्धानमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीका कुनै पनि कर्मचारीलाई छानविनको दायरामा ल्याइएको छैन । यसअघि बारा प्रहरीबाटै हत्याको छानविन नगरी दुर्घटना भनेर कागजात बनाउने प्रहरीबाट एशियन लाइफका सिईओसहितका उच्च पदस्थ व्यक्तिहरुको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको तथ्यहरुले औल्याएको छ । महिलाको हत्या जस्तो जघन्य अपराधमा जिल्ला प्रहरी कार्यालय बाराले विगत एक सातादेखि जारी राखेको अनुसन्धानमा शंकास्पद रुपमा चेक काट्ने सिईओसहितका व्यक्तिहरुलाई बयान किन लिइएन ? प्रश्न उठेको छ ।

 

श्रीमतीको मृत्युपछि एक करोड बीमा रकम बुझेका नाथु देवान प्रहरीद्वारा पक्राउ, एशियन लाइफका सिइओ दिनेशलाल श्रेष्ठ शंकाको घेरामा

 

One thought on “श्रीमती हत्या गरी एक करोड लिएका देवानबाट एशियन लाइफमै फर्कियो ३० लाख रुपैयाँ, साँघुरो दायरामा अनुसन्धान गर्दै प्रहरी

  1. बाबुराम घिमिरे says:

    जिवन बिमालाई हतियार बनाएर कसैले दुरुपयोग गर्नु हुदैन। यो समाचार प्रति खेद प्रकट गर्दछु। यदी हजराको हत्या भएको भए प्रहरीको प्रतिवेदन माग गर्दा दुर्घटना भनेर प्रतिवेदन दिने प्रहरी अधिकारी अनुसन्धानको दायरामा आउनु पर्छ । यदी एशियन लाईफ इन्स्योरेन्स सँग पूर्वाग्रही सोचका साथ समाचार सम्प्रेषण गरिएको हो भने यो समाचार लेख्ने पत्रकार
    पनि अनुसन्धानको दायरामा आउनु पर्छ। बिमा कम्पनीहरुले विना प्रमाण दावी भुक्तानी गर्दैनन तसर्थ बिमा कम्पनीको कार्यकारी
    प्रमुख र कर्मचारीलाई संका गरिनु गलत छ।
    समाचार सकारात्मक सन्देसले ओतप्रोत हुनु पर्छ।
    जय बिमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*