देउवा निकट सुगर मिल सञ्चालकको दादागिरी, केमिकल छोडेर सयौँ बिघाको उखु र धान नष्ट

२३ आश्विन २०८०, मंगलवार १८:३४

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकामा किसानले खेतमा लगाएको उखु र धान नष्ट भएपछि उखु किसान र स्थानीय चिनी मिलबीच ‘वार’ चलेको छ । पुनर्वास २ मा रहेको भागेश्वर सुगर मिलले बाढी आएको मौका छोपेर कारखानाको केमिकल छोडिदिएपछि झण्डै चार सय विघामा लगाएको उखु र धान नष्ट भएको आरोप किसानले लगाएका छन् ।

चिनी मिल सञ्चालकले आफुहरुले कुनै पनि प्रकारको केमिकल नछोडेको भन्दै बचाउ गरिरहेका छन् । वर्षाको बाढीमा केमिकल मिसाएको विषय स्थानीय जनप्रतिनिधिदेखि सिंहदबारसम्म पुगेको छ । तर, वास्तवमा भएको के हो ? भन्नेबारे निचोड निस्किएको छैन । कन्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले विज्ञसहितको टोलीले छानविन गर्न अनुरोध गर्दै मंगलबार मात्रै संघीय सरकारको कृषि मन्त्रालयलाई लेखि पठाएका छन् ।

उनका अनुसार किसानले केमिकल मिसिएको बाढीका कारण आफुहरुको उखु र धान नष्ट भएको गुनासो गरेका छन् भने स्थानीय र प्रदेश सरकारकोतर्फबाट त्यहाँ अनुगमन भई प्रतिवेदन आइसकेको अवस्था छ । चिनी मिल भएको वडा नम्बर २ का वडाध्यक्ष डम्बर बहादुर थापाका अनुसार खेतमा जमेको पानी सामान्य बाढीको पानी भन्दा फरक देखियो, एकदम कालो । उखु र धान त डुबानले विगारेको होला भन्न सकिएला, उनी भन्छन्, ‘त्यहाँ भएका जलचर थलचर सबका सब नष्ट भएका छन् । यसले गर्दा किसानले केमिकल मिसिएको शंका गरेका हुन् ।’

पुनर्वास नगरपालिकाको कृषि शाखाले बाढीमा केमिकल मिसिएपछि ५, ७ र ९ वडामा गरी झण्डै ४ सय बिघामा लगाइएको धान र उखुबाली नष्टको भएको जनाएको छ । दुई पटक संकलन गरिएको नमूना सुदूरपश्चिम प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत् भदौ ३ मा परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क)मा पठाइयो । नार्कको केन्द्रीय कार्यालयले त्यो पानी र माटो परीक्षण हुने प्रविधि आफुसँग नरहेको भन्दै हात उठाइदियो । र, काठमाडौंमै निजी प्रयोगशाला ‘वाटर इन्जिनियरिङ’मा परीक्षण गर्दा केमिकल मिसिएको रिपोर्ट आयो ।

पुनर्वास नगरपालिकाको कृषि शाखा प्रमुख कर्णबहादुर शाहीका अनुसार परीक्षण गरिएको पानीमा केमिकल अक्सिजन डिमान्ड (सीओडी) र बायोकेमिकल अक्सिजन डिमान्ड (बीओडी) को मात्रा फेला परेको छ । साउन ३० मा संकलन गरिएको नमूनामा सीओडीको मात्रा १४४ मिलिग्राम प्रतिलिटर र बीओडीको मात्रा ५७ मिलिग्राम प्रतिलिटर भेटिएको कृषि शाखा प्रमुख शाहीले बताए ।

४ दिनपछि दोस्रो पटक भदौ १ मा संकलन गरिएको नमूनामा पनि सीओडीको मात्रा ११ र बीओडीको मात्रा ४ फेला परेको शाहीले जानकारी दिए । चिनी मिल भन्दामाथि पानी जन्दैन । जमेपनि खासै असर परेको छैन । चिनी मिल भन्दामुनि जमेको पानीले यस्तो नोक्सान गरेको छ । तर, चिनी मिलका व्यवस्थापक डम्बर बहादुर खड्का आफुहरुले कुनै केमिकल बाहिर नछोडेको जिकिर गरिरहेका छन् ।

त्यसै क्षेत्रबाट सुदूरपश्चिम प्रदेश सभामा सासंद रहेका बीरबहादुर थापाले बाढीमा मिसिएको केमिकल चिनी मिलकै भएको जिकिर गरेका छन् । ल्याव परीक्षणबाट बाढीको पानीमा केमिकल मिसिएको पुष्टि भइसकेको र त्यस भन्दामाथि वा तल अन्य कुनै कारखाना नभएका कारण भागेश्वर सुगर मिलबाटै त्यो निस्किएको प्रमाणित हुने उनको भनाइ छ ।

उनले चिनी मिल दोषी देखिएकाले गल्ती स्वीकार किसानलाई उचित क्षतिपूर्ति दिनुपर्ने हुन्छ र त्यसो नभए कारबाही गरिनुपर्ने बताए । पुनर्वास नगरपालिका ७ का वडा अध्यक्ष मूलचन्द रानाकाले पहिले बाढीले ‘सिरो’ जातको घाँस कुहिने वा सुक्ने हुदैंन थियो, भने । तर, त्यस्तो जब्बर घाँससमेत अहिलेको पानीले सुकेर जानुबाट पनि मिलबाट केमिकल छोडेको प्रमाणित हुने उनले बताए । पहिले वडा अध्यक्ष रानाका अनुसार पहिले मिलले चिनी मात्रै उत्पादन गथ्र्यो भने अहिले कमसल खाले मदिरा बनाउने काम सुरू गरेको छ ।

कसको हो चिनी मिल ?
भागेश्वर सुगर मिल, डडेल्धुराबाट कञ्चनपुर झरेका शंकर बोगटीको हो । उनी कांग्रेस त्यो पनि सभापति शेरबहादुर देउवा निकट रहेको बुझिएको छ । देउवा भन्ने वित्तिकै आरजु कै वरपर घुम्ने भनेर बुझे भइहाल्यो ।
मिल उनका भान्जा डम्बर बहादुर खड्काले हेर्छन् । र, यो मिलले वेष्टेज म्यानेजमेन्ट तथा ट्रिटमेन्ट प्लान्ट बनाएको छैन । पटक–पटक सुझाव दिँदा पनि फिटिक्कै टेरेका छैनन्, मामा भान्जाले । राजनीतिक आडमा चिनीमिलले मदिरा बनाउन प्रयोग हुने स्प्रिड बनाएर ड्रमका ड्रम ओसार्छ । तर, केमिकल छोडेको छैन भन्छ ।

देख्नेलाई भन्दा को नि के गर्नेलाई लाज भनेको जस्तो छ । राजनीतिक आडमा आम जनसाधारणमाथि जस्तो सुकै बर्बरता गरे पनि हुन्छ भन्ने मानसिकताबाट ग्रसित बोगटी र खड्काले साधारण कुराको पनि हेक्का राखेका छैनन् । किसानको खेतमा अहिले भतक्क कुहिन पुगेको त्यहि उखु हो, उनको मिल चलाउने ! त्यो उखु नहुने हो भने, उनको चिनी मिलको के काम ? त्यति सामान्य कुरा पनि विर्सेर उनले केमिकल छोडे । अहिले होइन भनेर ढिपी कसिरहेका छन् ।

आफुहरुले स्प्रिड उत्पादन गरिरहेको कुरा खड्काले स्वीकारेका छन् । तर, किसानको घाउमा मल्हम लगाउन तयार छैनन् । उल्टै उनी कड्किन्छन्, यहाँ भन्दा बढी त बाढीले भजनीमा वित्यास पारेको छ, त्यता किन सोध्नु हुन्न ? त्यहाँ २ हजार बिघामा लगाएको धान र उखु नष्ट भएको छ । उनले भनेको कुरो कति सत्य हो भनेर जाँच्न २ मिनेट लागेन ।

भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीको भनाईबाट खड्काको झुट् ठाउँको ठाउँ पक्डियो । विक्रम भन्छन्, ‘हाम्रोमा दुई हजार होइन, बाढीले ५ सय बिघाजतिको धान डुुबाएको साँचो हो । पोहोर साल चाँहि ३ हजार बिघा प्रभावित भएको थियो ।’ भजनीका जनप्रतिनिधि समेतलाई थाहा रहेछ, भागेश्वर सुगर मिलले वेष्टेज म्यानेजमेन्ट र ट्रिटमेन्ट प्लान्ट बनाएको छैन भनेर । यो विषय गम्भीर भएको भन्दै विक्रमले मिलले आफुलाई सुधार्नै पर्ने सुझाव दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*