मोदीको कालापानी भ्रमण : ‘नेपालमा थप धार्मिक हिंसा भड्काउने प्रपन्च’

कुरो विगार्ने पूर्वराजा महेन्द्र
२६ आश्विन २०८०, शुक्रबार १७:५४

काठमाडौं । कुटनीतिक मान्यता र अन्तर्राष्ट्रिय सीमा सिद्धान्तविपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रको भ्रमण गर्नुलाई सामान्य रुपमा लिन नहुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालप्रति हेपाहा व्यवहार प्रदर्शन गर्दै मोदी नेपालले आफ्नो राजनीतिक प्रशासनिक नक्सामा राखेको गुन्जी क्षेत्रको भ्रमण गर्न आउनुलाई हल्का रुपमा लिन नहुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।

कुटनीतिक मान्यता र अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार विवादित दुई वा त्रिदेशीय सीमा क्षेत्रमा कुनै पनि मुलुकको राष्ट्र प्रमुख वा सरकार प्रमुखले भ्रमण गर्नु हुँदैन । कालापानी क्षेत्र नेपालको राजनीतिक एवं प्रशासनिक नक्सामा समेटिएको कुरा भारतीय प्रधानमन्त्री मोदी राम्रोसँग जान्दछन्, राजनीतिशास्त्री एवं प्राध्यापक कपिल श्रेष्ठले भने, ‘सबै कुरा बुझेर, जानेर पनि भारतीय प्रधानमन्त्रीले नेपाली नक्सामा समेटिएको क्षेत्रको भ्रमण गरे । गुन्जीमा रहेको पार्वती कुण्डमा पूजा गरेर तिर्थाटन गरे । गुन्जीबाटै कैलाश मानसरोबरको दर्शन गरे । हामी नेपालीका लागि यो भन्दा हेपाहा प्रवृत्ति अरु के हुनसक्छ ?’

मोदीको यो तिर्थाटन नेपालमा थप धार्मिक हिंसा भड्काउने प्रपन्च पनि हुनसक्ने शंका प्राध्यापक श्रेष्ठले गरेका छन् । उनले भने, ‘हाम्रा प्रधानमन्त्री प्रचण्डले भारत गएर गेरु बस्त्र धारण र चीन भ्रमणमा गएर कैलाश मान सरोवरको दर्शन गर्दा उल्टै धार्मिक असहिष्णुताका घटनाहरु भए । नेपालगन्जमा निषेधाज्ञा नै जारी गर्नु पर्ने अवस्था आयो ।’

चुच्चे नक्सामा भएको भूभाग नेपाल कै हो भन्नलाई थप कसरत गरिरहनै पर्दैन । उनी अगाडि भन्छन्, ‘चन्द्र शमशेरका पालामा कुटी, नाबी, गुन्जीका जनसाधारणले सरकार हामीलाई सुविधा दिनुहोस् भनेर विन्तिपत्र चढाएको देखि ०१५ सालको जनगणना, धेरै पछिसम्म तिरो तिरेका रसिद आदिले पनि त्यो भूभाग नेपालको भन्ने प्रसस्त आधार छन् ।’

तत्कालीन राजा महेन्द्रले गडबडी नगरेको भए त्यो भूभागमा भारतले रजाइँ गर्न पाउने थिएन । १९६२ मा भारतले चीनसँग लडाइँ हारेपछि महेन्द्रले भारतीय सेनाको क्याम्प बनाउन दिएर कुरो विगारेका हुन् । यो सबै बुझेका भारतीय प्रधानमन्त्री मोदी नेपालले जारी गरेको चुच्चे नक्साबारे मौन छन् । ५ पल्ट सम्म कुटनीतिक नोट पठाउँदा पनि उनले जवाफ पठाउन आवश्यक ठानेनन् ।

सीमा विज्ञ एवं नावी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय सीमा सिद्धान्तविपरीत भएको यो भ्रमणलाई नेपालले सामान्य रुपमा लिन नहुने बताएका छन् । उनले भने, ‘मोदीले यो क्षेत्र भारतकै हो भन्ने तथ्य स्थापित गर्ने उद्देश्य राखेर विवादित क्षेत्रको भ्रमण गरेका हुन् ।’ अर्कोतिर धार्मिक तिर्थाटनसहितको भ्रमण गर्नुलाई भारतमा हुने आसन्न निर्वाचन लक्षित रणनीति हुनसक्ने पनि श्रेष्ठले बताए । उनका अनुसार उत्तराखण्डबाट भारतीय जनता पार्टीका उम्मेदवारलाई जिताउन उनले अहिल्यैदेखि चुनावी पासा फालेको हुनसक्छ ।

उनको भित्रि मनसाय जे भए पनि नेपालले आफ्नो प्रशासनिक नक्सामा राखिसकेको भूभागमा आएर ४२ करोडको योजना घोषणा गरेर जानुलाई हल्का रुपमा लिन नसकिने तर्क श्रेष्ठले गरेका छन् । मोदीले अमेरिकाको अगुवाईमा अघि बढेका सामरिक महत्वका योजनाको छनक दिन पनि यसो गरेका हुनसक्ने अड्कल जानकारहरुले गरेका छन् । -तस्वीर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुकबाट 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*