विद्युत प्राधिकरणले हालसम्मकै ठूलो आईपीओ ल्याउँदै, ‘एकैपल्ट २४ करोड कित्ताको शेयर निष्कासन’

३० आश्विन २०८०, मंगलवार १०:०२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हालसम्म कै ठूलो २४ करोड कित्ताको आईपीओ जारी गर्ने तयारी गरेको छ । वित्तीय पुनर्संरचना गरेर चुक्ता पूँजी तीन खर्ब बनाउने योजनाकासाथ प्राधिकरणले २४ करोड कित्ताको आईपीओ जारी गर्न लागेको हो ।

प्राधिकरणले प्रिमियममा ६० अर्बबराबरको आईपीओ जारी गर्न लागेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । विद्युत प्राधिकरणलाई तीन खर्ब चुक्ता पूँजी बनाउन अब एक खर्ब ९५ अर्बको आवश्यकता छ । त्यसकै १० प्रतिशतको रकममा प्रिमियम मूल्य थप गरेर ६० अर्बको आईपीओ जारी गर्ने प्रस्ताव प्राधिकरणले अर्थ मन्त्रालयमा पेश गरिसकेको छ ।

शेयरको प्रतिकित्ता किताबी मूल्य करिब एक सय २५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी शेयर निष्कासन गर्ने प्रस्ताव गरिएको कार्यकारी निर्देशक घिसिङले बीमापोष्टलाई बताए । रकम र कित्ताका आधारमा सम्भवतः यसलाई नेपाली पूँजी बजारकै ठूलो आईपीओ ठानिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘क्रेडिट रेटिङबाट संस्थाको वित्तीय अवस्था राम्रो देखिएको छ । ऋण तिर्न सक्ने क्षमतामा उच्च क्षमता देखिएकाले हामी संस्थाले कमाएको नाफा र आईपीओबाट प्राप्त हुने रकमबाट लगानीको खाडल पूरा गर्ने योजनामा छौँ ।’

विद्युत उत्पादनतर्फका आयोजना निर्माण गर्न, विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय एवं सुरक्षित बनाउन प्रणाली सुधारका लागि ठूलो पूँजी आवश्यक पर्ने भएका कारण आफुहरुले यस्तो योजना ल्याएको समेत कार्यकारी निर्देशक घिसिङले बताएका छन् । इक्रा नेपाल लिमिटेडले हालै गरेको प्रक्षेपणमा विद्युत प्राधिकरणले ‘डबल ए प्लस क्रेडिट रेटिङ’पाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*