एनआरएनएको महाधिवेशन आजदेखि, अध्यक्षमा ४ जनाको उम्मेद्वारी, पहिलो पल्ट अनलाइन भोटिङ

३० आश्विन २०८०, मंगलवार १०:३३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । संघले ‘नेपालीका लागि नेपाली’ र ज्ञान र रुपान्तरण समृद्धिको आधार भन्ने नाराका साथ अन्तर्राष्ट्रिय अहाधिवेशन गर्न लागेको हो । एनआरएनएको महाधिवेशनको उद्घाटन दिउँसो २ बजे होटल सोल्टीमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम छ । ३ कार्तिकमा सम्मेलनको समापन भने प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यतालिका छ ।

महाधिवेशनका दौरान विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष र नागरिकता ऐन, मताधिकार सम्बन्धमा नेपाल सरकार तथा सरोकारवालासहितको विशेष सत्र चल्ने बताइएको छ ।

एनआरएनएको इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेशनमार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिंदै छन् । संसारका जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको छ भने नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको बताइएको छ ।

नेयाँ नेतृत्वका लागि सोमबार उम्मेद्वारी दर्ता बन्द हुँदासम्म अध्यक्ष पदमा चार जनाले उम्मेद्वारी दिएका छन् । संघको वर्तमान अध्यक्ष डा. बद्री केसी, रबिना थापा र उपाध्यक्षद्वय राजेन्द्रकुमार शर्मा (आरके) र महेश श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका हुन् ।

६ उपाध्यक्षका लागि १८ जनाले उम्मेदवार दिएका छन् भने एक जना महासचिवका लागि दुईजना गौरीराज जोशी र बुद्धिप्रसाद सुवेदीले उम्मेद्वारी दिएका छन् । उपमहासचिवमा दुई जना रहने व्यवस्था हुँदा पाँच जनाको उम्मेद्वारी परेको छ ।

यस्तै, ६ जना सचिवका लागि १५ जना र कोषाध्यक्षमा दुई जनाले उम्मेद्वारी दिएका छन् । महिला उपाध्यक्ष एक र युवा उपाध्यक्ष एक रहन पाउने व्यवस्था रहेकामा दुई-दुई जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षसहित कुल एक सय ९ जनाले उम्मेद्वारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*