एनआरएनलाई नेपाली नागरिकता वितरण, नेपालमा व्यवसाय गर्न र सम्पति राख्ने बाटो खुल्यो

३० आश्विन २०८०, मंगलवार ११:२३

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीत मंगलबार बिहान गैरआवासीय नागरिकता वितरण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र डा.बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरे ।

नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसी र आचार्यले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको प्रतिक्रिया दिए । उनीहरुले अब वंशजका आधारको नागरिकता प्रदान गरेका खण्डमा आफ्ना सन्ततीहरुको भविष्य समेत सुरक्षित हुने धारणा राखे ।

गएको जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले स्वीकृत गरेकाले गैरआवासीय नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको हो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साविकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएनतर्फको नागरिकधारीहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र मताधिकार भने पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउनेछन् ।  मताधिकार लिने विषयमा एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय सम्मेलनका दौरान विशेष सत्र राखिएको छ । सम्मेलन मंगलबार सुरु भई ३ कार्तिकसम्म काठमाडौंमा चल्दै छ ।

यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा-बुबा, हजुरबुबा–हजुरआमा साविकमा नेपालको नागरिक रहेको प्रमाण पेश गर्नुपर्ने हुन्छ । विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ ।

साथै, नेपालको संविधान, कानूनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने कानूनी प्रावधान राखिएको छ । यससँगै प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।

नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानूनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपरेको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ र यो निकै ठूलो उपलब्धि हो ।’

यस्तै, गैरआवासीय नेपालीलाई नेपालको नागरिकता दिलाउन पूर्व एनआरएनए अध्यक्ष डा. उपेन्द्र महतोले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले गैरआवासीय नेपालीलाई नेपालमा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक हुने सम्बन्धनमा कानूनी व्यवस्था गर्नका निमित्त निकै कसरत गरेका थिए । उनको मेहिनतले अहिले आएर सार्थकता पाएको छ । -तस्वीर : प्रधानमन्त्रीको निजी सचिवालय 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*