चर्को महँगीमा भान्सा, खाद्य तथा पेय पदार्थ समूहको स्फीति धेरै

३० आश्विन २०८०, मंगलवार १६:२६

काठमाडौं । यो आर्थिक वर्षको सुरुवातदेखि नै आम उपभोक्ताले महँगीको चर्को मार खेप्नुपर्ने भएको छ । यो आर्थिक वर्षको सुरु दुई साउन र भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत देखिएको छ । राष्ट्र बैंकले जारी गरेको मुलुकको वित्तीय स्थितिले नेपाली उपभोक्ता यस्तो कन्तविजोगमा बाँचिरहेको देखाएको हो ।

सरकारले बजेट र मौद्रिक नीतिमार्फत मुद्रास्फीति ६.५ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ । तर, वस्तुस्थिति भने अर्कै । आर्थिक वर्षको सुरुवात मै चर्को मल्यवृद्धिको सामना गर्नु परिरहेको छ ।

अघिल्लो वर्ष साउन र भदौ महिनामा मुद्रास्फीति ८.६४ प्रतिशत रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार यो वर्ष पनि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति धेरै छ । यसले नेपाली भान्सा महँगिएको छ ।

यो समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थभित्र समेत मरमसलामा सर्वाधिक ४५.४६ प्रतिशतले मूल्य बढेको छ । जिराको मूल्यले आकाश छोएको छ ।

चिनी र चिनीजन्य वस्तुमा १७.८६, तरकारीमा १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.३८ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.६० प्रतिशत र रेष्टुरेन्ट तथा होटेलको १०.९७ प्रतिशतले मूल्य बढेको छ । घ्यू तथा तेल उपसमूहको मूल्य भने १३.०८ प्रतिशतले गिरावट आएको तथ्यांकमा देखाइएको छ ।

महँगीको मारमा सबैभन्दा बढी हिमाली क्षेत्रमा (११.३२ प्रतिशत), काठमाडौं उपत्यका (९.८३ प्रतिशत), पहाडी क्षेत्रमा ८.०९ प्रतिशत र तराई क्षेत्रमा ७.०३ प्रतिशत मूल्यवृद्धि देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*