चिनियाँ राष्ट्रपतिले घोषणा गरे बीआरआईमा उठाइने ८ मुख्य कदम

१ कार्तिक २०८०, बुधबार १४:२५

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले बहुचर्चित बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई)उच्च गुणस्तरका लागि ८ मुख्य कदमको उद्घोष गरेका छन् । तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सम्मेलनका दौरान चिनियाँ राष्ट्रपति सी’ले ८ मुख्य अवधारणा सार्वजनिक गरेका हुन् । राष्ट्रपति सी’ले चीनदेखि युरोपसम्मको रेलवे निर्माणलाई तीव्रता दिने बताएका छन् भने एशियाका लागि नयाँ ढुवानी कोरिडोर निर्माण गर्ने योजना सुनाएका छन् ।

उनले अघि सारेका ८ मुख्य अवधारणाको पहिलो नम्बरमा युरोप र एशियामा ढुवानीका लागि कोरिडोर निर्माण गर्ने उल्लेख छ । दोस्रोमा अधिक स्वतन्त्र व्यापार तथा लगानी सम्झौतासहितको सिल्क रोड, विद्युतीय वाणिज्य क्षेत्र बनाउने अवधारणा छ ।

तेस्रो नम्बरमा चिनियाँ विकास बैंकबाट ४७ अर्ब ८० करोड बराबरको वित्तीय प्रितवद्धता आएको उल्लेख छ भने चौथोमा हरित विकासको योजना उल्लेख छ । उनले जारी गरेको स्टेटमेन्टको पाँचौँ अवधारणामा विज्ञान तथा यान्त्रिक बौद्धिकताको विकासको योजना राखिएको छ ।

छैठौँमा बीआरआई क्षेत्रका मानिसबीच सांस्कृतिक अन्तरघुलनका साथै पर्यटकीय सहकार्य गर्ने भनी उल्लेख छ भने सातौँमा पारदर्शितासहितको सहकार्य गरिने उल्लेख छ । आठौँ नम्बरमा बीआरआई संवद्ध संस्था र सचिवालय गठन गर्ने कुरा उल्लेख गरिएको छ ।

सी’ले चीनले पारदर्शीरुपमा आपसी सहकार्य गर्दै सबैको साझा समृद्धिमा टेवा गर्ने बताएका छन् । आगामी चार वर्ष (सन् २०२४-२०२८)भित्र बीआरआईमार्फत वाणिज्य व्यापार ३२ खर्ब र सेवा व्यापार ५ खर्ब बनाउने लक्ष्य लिइएको सी’ले उदघोष गरेका छन् ।

सी’ले सम्मेलनमा गरेको वक्तव्यलाई उदृत गर्दै सिन्ह्वाले, ‘यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रतिवद्धता रहेको छ’ भनी लेखेको छ । यान्त्रिक बौद्धिकता (एआई)को लोकप्रियता र चुनौती बढिरहेको अवस्थामा सीले यसको विकास र अनुसन्धानका लागि बीआरआईमा सहकार्य गर्ने मुलुकहरुमा अनुसन्धानका लागि प्रयोगशाला निर्माण गर्ने घोषणा समेत गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*