विजयादशमीको टीकाको साइत विवादमा,के हो यथार्थ ?

२ कार्तिक २०८०, बिहीबार १६:१८

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीको टीका, प्रसाद ग्रहण गर्ने साइत कार्तिक ७ गते मंगलबार बिहान ११ः२ मा उत्तम रहेको भनी तय गरेको छ । देवी विसर्जन बिहान १०ः३७ र खड्गजात्राको साइत बिहान १०ः३ बजे निर्धारण गरिएको छ ।

यस्तै, तुलजाभवानीको यात्रा बिहान ९ः२ बजे गर्न भनिएको छ । पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव ज्योतिष पंडित सूर्य ढुंगेलले टीकाको साइतमा कुनै समस्या नरहेको बताउँछन् । तर, मन्दिरका विभिन्न यात्रा वा जात्राका सम्बन्धमा भने केही तलमाथि हुनसक्ने उनको तर्क छ ।

केही ज्योतिष पण्डितहरुले टीकाको साइत हचुवामा निर्धारण गरेको भनी पञ्चाङ्ग निर्णायक समितिको निर्णयमाथि नै प्रश्न उठाएपछि समितिका सदस्य सचिव समेत रहेका ढुंगेलले यस्तो जवाफ दिएका हुन् । उनले भने, ‘राष्ट्रका लागि गरिएको निर्णयमा कुनै समस्या छैन । जहाँसम्म तुलजा भवानीको यात्रा, खड्गजात्रा, स्थिरासन लगायतका कुरा छन् । त्यसमा मन्दिरहरुको प्राय आ–आफ्नै परम्परा हुने भएका कारण उनीहरुले यो मिलाउ भन्न सक्छन् । त्यसमा हामी उहाँहरुलाई एक्ला एक्लै हुने गरेर सहजीकरण गरिदिन सक्छौँ । टीकाको साइत निकालिएको सन्दर्भमा सबै कुरा मिलेको छ । कुनै समस्या छैन ।’

आफुलाई शुक्राचार्य भनेर चिनाउने एक जना ज्योतिष पण्डितले समितिद्वारा जारी टीकाको साइत हचुवा भनेका छन् । उनले, ‘बिहान ११ बजेर २ मिनेटमा धनु लग्न, कुम्भ राशि बनाएर साइत दिइएको छ । एकातिर शनि चन्द्र योग र अर्कोतिर सूर्य मंगल बुधको योग पारेर साइत पारेका कारण यस्तो अवस्थामा दिउँसो दशैंको टीका ग्रहण गर्नु हुँदैन ।’ यस्तो साइतमा टीका लगाउँदा जनतालाई कष्ट, विद्रोह, लडाई झगडा, मरिमराउ पनि हुनसक्ने चेतावनी उनले दिएका छन् । उनले श्रवण नक्षत्रविनाको टीका अनर्थ हुन्छ, पनि भनेका छन् ।

समितिले हचुवा र मनोमानीपूर्वक साइत दिएकाले सचेत हुनुपर्ने भन्दै ति ज्योतिषले अक्षतामा रातो अविर कम र केसरी बढी हालेर पहेंलो देखिने टीका ग्रहण गर्न उपयुक्त हुने सुझाव दिएका छन् । यस्तो दोषप्रद समयमा रातो टीका लगाउँदा मंगल ग्रहको अधिक करेन्ट प्रवाह हुन गई अनेक दुष्परिणाम आउने चेतावनी समेत उनले दिएका छन् । उनले यस्तो अवस्थामा साँझतिर टीका ग्रहण गर्नुपर्ने कुरा समेत गरेका छन् ।

साँचो कुरो के हो त ?
फलादेश दिने ४० हजार ज्योतिष पण्डितभित्र कै एक हुन्, ज्योतिष शुक्राचार्य । उनले यो पल्ट घटस्थापनामा परेको चित्रा नक्षत्र र वैधृति योगको प्रसंगबाट टीकाको साइतमा छिर्के हान्न भ्याएछन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले घटस्थापनाको साइत दिएकै बेला चित्रा नक्षत्र र वैधृति योग एकैपल्ट परेका कारण ‘चित्रा र वैधृति’ शान्ति गरेर मात्रै घटस्थापना गर्न सुझाएको थियो । जुन आलेख अर्थात् सुझाव तयार पार्दा पञ्चाङ्गले सर्वप्रथम धर्मसिन्धु र निर्णयसिन्धुलाई आधार मानेको थियो ।

ज्योतिष शुक्राचार्यले पनि धर्मसिन्धु र निर्णयसिन्धुको उद्दरण दिँदै टीकाको साइतमा छिर्के हानेका हुन् । उनी पहिल्यैदेखि निर्णायक समितिको ‘कर्मकाण्ड’का कटु आलोचक हुन् । आफुले गणना गरेको पात्रो पटक–पटक पेश गर्दा पनि स्वीकृत नभएको झोंक पनि छ, उनलाई । तर, बडा दशैंको टीका प्रसाद ग्रहणको साइत निर्धारण मै किन प्रश्न उठाए ? कुरो विचारणीय पनि हुनसक्छ !

 

धर्मशास्त्रविद् एवं पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार धर्मशास्त्रमा बचन दुई किसिमका हुन्छन्, सामान्य र विशेष । सामान्य भन्दा विशेष बचन माथि हुन्छ, अर्थात शामान्य शास्त्र भन्दा विशेष शास्त्र माथि मानिन्छ । उनी भन्छन्, ‘बडा दशैं अर्थात् विजया दशमी आफैंमा विशेष पर्व वा लगन हो । यस्तो विशेष दिन अहोरात्र शुभ मानिन्छ । यो वा त्यो समय शुभ वा अशुभ भन्ने हुँदैन । राज्य सञ्चालकलाई हो, साइत चाहिने । उनीहरुलाई राज्य सञ्चालनको शक्ति प्राप्त होस् र नागरिक जनलाई सुशासन दिन सक्षम होउन् भन्ने उद्देश्यले उनीहरुका लागि साइत निकाल्ने प्रचलन हो । तर, हामी साधारण जनलाई साइत चाहिँदैन । देवी विसर्जन गरेर विहानैदेखि टीका प्रसाद ग्रहण गर्दा फरक पर्दैन । विजया दशमीको दिन बिहानैदेखि बेलुकीसम्म टीका लगाउन कुनै वाधा पर्दैन ।’

साइतको सन्दर्भमा सुझाव दिँदै प्रा.डा.गौतमले भनेका छन्, ‘देवीका १५ मुहुर्त हुन्छन् । जसमध्ये महत्वपूर्ण र दोष निवारक मुहुर्त भनेको अविजित मुहुर्त हो । जसलाई हामी मध्यान्हकाल पनि भन्दछौँ । त्यो समयमा अन्य कुनै पनि अंकगणित नमिलेको भए पनि दोष लाग्दैन भन्ने सूर्य सिद्धान्तको मान्यता छ । हाम्रो पात्रो नै सूर्य सिद्धान्त अनुसार गणना गरिएको हुन्छ । त्यसै अनुसार साइतहरु निकालिन्छ । खास गरेर साइत निकाल्ने राज्यको कुण्डली हेरेर हो । यति साइत निकाल्दा केही कुरा मिलेका छैनन् भने अविजित मुहुर्तमा गरे कुनै दोष नलाग्ने मान्यता छ ।’

पहिले पहिले राजाहरु युद्ध लड्न जाने र रणकौशलमा उत्रिने भएका कारण उनीहरुलाई दुर्गा भवानीले शक्ति प्रदान गरुन् भनेर साइतको टीका प्रसाद लगाइदिने चलन चलेको हो, प्रा.डा. गौतम भन्छन्, ‘साइत भन्दा पनि सबै भन्दा महत्वपूर्ण कुरा टीका ग्रहण गर्ने र लगाइदिने व्यक्तिहरुको मोहडा मिलाउनु पर्ने हुन्छ । विजया दशमीका दिन चन्द्रमा पश्चिमतिर हुन्छन् । त्यसो भएको हुनाले टीका ग्रहण गर्ने मान्छे पश्चिम फर्किने र टीका लगाइदिने मान्छे पूर्व फर्किएर लगाइदिने गर्नु जस्तो उपयुक्त केही हुँदैन । यत्ति कुरा ध्यान दिए पुग्छ । साइतको घडी पलाले खासै फरक पर्दैन ।’

संस्कृतिविद् एवं धर्मशास्त्रविद् डा. जममान गुरुङले समेत कलियुगमा हरेक कुराको विधि खोजेर साध्य नलाग्ने र कुनै कन्फ्यूजन भएका खण्डमा अविजित मुहुर्तलाई साइत मान्दा उपयुक्त हुने बताएका छन् । पहिले-पहिले राज्यको कुण्डली हेरेर साइत निकालिन्थ्यो, डा. गुरुङले अगाडि भने, ‘त्यसो हुँदा ६ । ८ । १२ पार्नु हुँदैनथ्यो । अहिले कलि उन्मत्त भएका बेला विधि र निधिको कुरा पूरा गर्न सकिँदैन । समय अनुसार सबै बदलियो, अब । यहि अन्तिम सत्य हो, अहिलेको समयका लागि ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*