काठमाडौं उपत्यका सुनसान

६ कार्तिक २०८०, सोमबार १२:२७

काठमाडौं । बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान बनेको छ । सधैंजसो ट्राफिक जाम हुने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान भएका हुन् ।

सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । धेरैजसो मजदुर र गाडीधनीहरु समेत गाडी थन्क्याएर घरमै केन्द्रित छन् । त्यसैले सार्वजनिक यातायातका साधन पनि फाट्टफुट्टमात्र चलेका छन् ।

काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्र पनि आजदेखि सुनसान देखिन्छन् । यी नाकाहरुबाट दैनिक एक लाख मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुमानित तथ्यांक छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान छ ।

दशैंमा हुनसक्ने सम्भावित दुर्घटना र आपराधिक घटना न्यूनीकरण गर्न भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा विशेष सुरक्षा योजना लागू गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*