तनहुँ जलविद्युत आयोजनाको काम हालसम्म ४३ प्रतिशत सम्पन्न

६ कार्तिक २०८०, सोमबार १२:३७

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम हालसम्म ४३ प्रतिशत सम्पन्न भएको छ ।

आयोजना यथाशीघ्र सम्पन्न गर्ने उद्देश्यका साथ दसैंमा पनि काम निरन्तर सञ्चालन हुने भएको हो ।निर्माण सुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको छ । आयोजनाका अनुसार प्याकेज एक अन्तर्गत बाँध निर्माणमा २५ प्रतिशत, प्याकेज दुई अन्तर्गत विद्युतगृह निर्माणमा ४५ प्रतिशत र प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणमा ६९ प्रतिशत भौतिक प्रगति भएको छ ।

 

आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रा.लि नेपाल जे.भी.ले निर्माण गरिरहेको छ ।

जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने, प्रवेश सडकको स्तरोन्नति लगायतका काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।

आयोजनाको प्याकेज एक अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार ८७८ मा खरिद सम्झौता भएको थियो ।

यो प्याकेज अन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ एक र दुईको निर्माण जारी रहेको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको छ ।बाँधको माथिल्लो भागको स्लोप खन्ने काम अन्तर्गत हालसम्म इलिभेसन तह ५४४ मिटरबाट ४८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो ।
हालसम्म इलिभेसन तह ४७० मिटरसम्म खनिएकोे छ ।प्याकेज दुई अन्तर्गत भूमिगत विद्युतगृहको भौतिक निर्माणको काम ६६ प्रतिशत सकिएको छ । इलेक्ट्रोनिकल मेकानिकल अन्तर्गत १० प्रतिशत प्रगति हासिल भएको छ ।

आयोजनाको प्याकेज दुईको निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते १ अर्ब १४ करोड १ लाख ८८ हजार अमेरिकी डलर र नेपाली रुपैयाँ ३ अर्ब ८३ करोड १३ लाख ६० हजारमा खरिद सम्झौता भएको थियो । खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपछि सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजना स्थलमा परिचालित भई निर्माण जारी राखेको छ ।
यो प्याकेज अन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँध स्थलतिर जाने तथा सर्ज ट्यांकतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारको भनाइ छ ।आयोजनाको १ हजार ४५६.९ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म ६८० मिटर खनिएको छ । आयोजनाको २१०.९ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खनिएको छ । प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ६९ वटा टावरको जग हालि सकिएको छ ।
३३ वटा टावर जडान सम्पन्न भएको र आठ स्थानमा टावर संरक्षण गरिएको छ । ३४.७ किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ ।कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत ५० करोड ५० लाख रुपैयाँ अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार-नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।प्रसारण लाइन निर्माण २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिएता पनि कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।दसैंका कारण आयोजनाको काम प्रभावित नहुने राजभाइ शिल्पकारले जानकारी दिए । अन्य समयको तुलनामा दसैंमा कामदार कम भएपनि काम निरन्तर सञ्चालन भइरहेको हो । ‘दसैं बिदाले आयोजनाको काम प्रभावित हुँदैन, अरु बेला भन्दा अहिले कामदार केही कम छन्, कतिपयलाई दसैं बिदा दिइएको छ ।’ उनले भने, ‘निर्धारित मितिमै काम सम्पन्न गराउनका लागि पनि कामलाई निरन्तरता दिनुपर्ने अवस्था छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*