इजरायल युद्धले बढायो नेपालमा सुनको भाउ

१२ कार्तिक २०८०, आईतवार १३:४०

काठमाडौं । मध्यपूर्व तनावको प्रभाव नेपाली सुन बजारमा परेको छ । नेपाली बजारमा सुनको भाउ हालसम्म कै महँगो भएको छ । शनिबार ऐतिहासिक नयाँ रेकर्ड कायम गरी प्रतितोला १ लाख १७ हजार पुगेको छापावाल सुनको मूल्य आइतबार सोही मूल्यमा स्थिर छ ।

इजरायलमा जारी द्वन्द र त्यसबाट उत्पन्न तनावका कारण एसियाली अर्थतन्त्रमा प्रभाव परेको र त्यो असर नेपाली सुन बजारसम्म आइपुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए । उनले बीमापोष्टसँग भने, ‘अहिले सुनको भाउ बढ्नुको मुख्य कारण नै मध्यपूर्व तनाव र भू–राजनीतिक असर हो । त्यसैका कारण सुनको भाउ आकाशिएको हो ।’

यतिबेला दशैं तिहार बाहेक अन्य शुभ कार्यहरु हुँदैनन् । र, पनि सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । उनी अगाडि भन्छन्, ‘मध्यपूर्व तनावकै कारण नेपालमा डलरको भाउ समेत बढेको छ । अमेरिकी डलर अहिले एकको विक्रिदर १३३ रुपैयाँ ५५ पैसा छ । यो अहिलेसम्मकै महँगो भाउ हो । त्यसरी नै सुनको मूल्य समेत ऐतिहासिक हो ।’ सुनको भाउ बढ्दा किन्ने घटेका छन् भने पूराना गहना बेच्नेहरु बढेका छन् ।

पश्चिम एसियामा एकातिर इजरायल र मुस्लिम मुलुकहरूबीच टकराब छ भने अर्कोतर्फ शिया मुसलमान बहुल इरान र सुन्नी बहुल साउदी अरबबीच कटुता बढेको छ । यहाँ दीर्घकालीन युद्धविरामको खाँचो रहेपनि उपलब्धी हुन सकेको छैन । यो तनाव बढ्दै गए नेपालमा वैदेशिक मुद्रा सञ्चितिले आयात धान्न नसक्ने स्थिति आउन सक्छ भने रेमिट्यान्स घट्दा आयात शक्तिमा ह्रास भई अत्यावश्यकीय वस्तुको भाउ आकाशिन सक्छ । विदेशी मुद्रा सञ्चिति नहुने हो भने इन्धन आयात नै गर्न नसक्ने अवस्थामा मुलुक पुग्नसक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*