ट्राफिक चेक जाँचमा परे नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

१३ कार्तिक २०८०, सोमबार १५:५१

काठमाडौं । अब ट्राफिक चेक जाँचमा सवारी चालक र ट्राफिक प्रहरी दुबैलाई सजिलो हुने भएको छ । नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको विवरणलाई समेत चेकजाँचका क्रममा मान्यता दिन थालिएपछि केही राहत हुने भएको हो ।
नागरिक एपमा विवरण अद्यावधिक भएपछि चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)बोक्नै नपर्ने अवस्था भने अझै आइनसकेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाले जनाएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टले बीमापोष्टसँग भने, ‘लाइसेन्स नै बोकेर हिड्नुपर्ने झन्झट हटेको भनेर अहिल्यै भन्न मिल्दैन । नागरिक एपमार्फत लाइसेन्स लिए नलिएको थाहा पाउने र सामान्य चेकजाँचको हकमा एपमा अद्यावधिक विवरणलाई आधार मानेर छोड्न सकिने भयो । तर, कारबाही वा जरिवानाको सन्दर्भमा लाइसेन्स अनिवार्य बोके कै हुनुपर्छ ।’

राष्ट्रिय सूचना प्रविधि केन्द्रले पनि ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउनेको हकमा नागरिक एपबाटै ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने व्यवस्था गरिएको जानकारी दिएको छ । उसले देसव्यापी रुपमा यो लागू भएको भन्दै सार्वजनिक रुपमा सूचीत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*