जर्मनी र रोमानियाले नेपाली कामदार लैजाने, श्रम सम्झौता गर्न मन्त्रिपरिषदबाट स्वीकृति

१७ आश्विन २०८०, बुधबार १७:५१

काठमाडौं । युरोपेली मुलुक जर्मनी र रोमानियाले अब नेपाली कामदार लैजाने बाटो खुल्ने भएको छ । जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएसँगै नेपाली कामदार युरोप छिर्ने वैधानिक बाटो खुला हुन लागेको हो ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र त्यससम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरत्सिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई अनुमति समेत प्रदान गरेको छ ।

विभागीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्य मुलुकमा समेत नेपाली श्रमिक पठाउन श्रम सम्झौताका लागि पहल गरिरहेको छ । यस्तै, सरकारले नेपाल र स्विजरल्यान्ड तथा नेपाल र रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ ।

बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णयसमेत गरेको छ । मन्त्रिपरिषद्ले सिटी अफलन्डनको मेन्सन हाउसमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*